वडाध्यक्षले फलामको रडले कुटे नदी संरक्षण अभियन्तालाई

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालमाथि आँधी खोला संरक्षणमा संलग्न अभियानकर्मीहरूलाई आक्रमण गरेको आरोप लागेको छ। मोटरसाइकलमा फर्किंदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध दुई अभियन्तालाई उनले फलामको रडले कुटपिट गरेको पीडितहरूको भनाइ छ।

प्रहरीका अनुसार आक्रमणमा घाइते हुनेहरूमा रास्वपा नेता दिनकर नेपाल र मेघ आले रहेका छन्। वालिङ–९, सुर्कौदीमा वडाध्यक्ष खनालले उनीहरूको मोटरसाइकल रोकेर हमला गरेका थिए। नेपालको हेल्मेटको सिसा फुटेको र हातमा चोट लागेको छ भने आलेलाई नालीमा लडाइदिएको बताइएको छ।

घटनाबारे दिनकर नेपालले भने, “हामी आँधी खोलाको दोहनविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेर फर्किंदै थियौं। बाटोमा रोकेर वडाध्यक्षले बिना भनाइ रडले हाने।” उनले हेल्मेटका कारण गम्भीर चोटबाट जोगिएको बताए।

मेघ आलेका अनुसार वडाध्यक्षले कुनै चेतावनी नदिई कुटपिट सुरु गरेका थिए। “बोल्न नपाउँदै प्रहार भयो, केही बेरमै दुई जना प्रहरी आएपछि वडाध्यक्ष त्यहाँबाट हिँडे,” आलेले भने।

दुवै अभियन्ता रास्वपा निकट भए पनि कार्यक्रम स्वतन्त्र नागरिक तहबाट गरिएको जनाइएको छ। वडाध्यक्ष खनाल भने सत्तारूढ नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

पीडित पक्षले वडाध्यक्षविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्। प्रहरी घटनाको अनुसन्धानमा लागेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज