काठमाडौं । संघीय संसदअन्तर्गत रहेको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका न्यायाधीशहरूको सुनुवाइअघि सार्वजनिक उजुरी आह्वान गर्दै आइतबार प्रकाशित सूचना सच्याएको छ।
आइतबार सार्वजनिक गरिएको सूचनामा वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई “उच्च अदालत पाटन” सँग आवद्ध रहेको उल्लेख गरिएको थियो। तर, सो विवरण गलत भएको भन्दै समितिले सोमबार नयाँ सूचना प्रकाशित गर्दै त्रुटि सच्याएको हो।
वास्तवमा पोखरेल हाल कुनै उच्च अदालतमा कार्यरत छैनन्। उनी सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष हुन्। न्याय परिषद्को जेठ २७ गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।
नयाँ सूचनामा पोखरेलको स्थायी ठेगाना उल्लेख गरिए पनि बार अध्यक्षको हैसियत भने छुटाइएको छ। जबकि अन्य दुई सिफारिस भएका व्यक्तिहरू श्रीकान्त पौडेल (मुख्य न्यायाधीश, उच्च अदालत जनकपुर) र शान्तिसिंह थापा (मुख्य न्यायाधीश, उच्च अदालत दिपायल) को पद र पदस्थापन अदालत स्पष्ट उल्लेख गरिएको छ।
यसअघि, समितिको शनिबार बसेको बैठकले सिफारिस भएका तीन न्यायाधीश र न्याय परिषद्को सदस्यमा सिफारिस गरिएका पूर्वमुख्यसचिव महेशकुमार नेपालका विषयमा १० दिनभित्र लिखित उजुरी दिन आम नागरिकहरूलाई आह्वान गर्ने निर्णय गरेको थियो।