काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसन (काजिअ बार) का उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आगामी असार २८ गते हुने निर्वाचनको सन्दर्भमा बार सदस्यहरूबीच व्यापक चासो रहँदै आएको बेला उनले औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका हुन्।
हाल काजिअ बारको उपाध्यक्ष रहेका अधिकारीले आफू बारको निर्वाचन समयमै होस् भन्ने अभियानमा सक्रिय रुपमा लागिरहेको उल्लेख गर्दै भने, “निर्वाचनको मिति तोकिनुमा मेरो अभियान सफल भएको महसुस गरेको छु, तर यसपटक अध्यक्ष पदमा उम्मेदवारी भने नदिने निर्णय गरेको छु।”
२०७९ सालको असार ३२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकारीले भदौ १७ गते उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए। उनले बारको नेतृत्व हस्तान्तरण प्रक्रिया नियमित क्यालेन्डरअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।
अधिकारीले चुनावी सौदाबाजीमा आफू नलाग्ने र संस्थागत हितलाई नै प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि दोहोर्याए। “मैले बारको हितका लागि काम गरें र गरिरहेको छु। अध्यक्ष पदमा आँखा लगाएर होइन, संस्थाको निरन्तर सुधारका लागि प्रयासरत छु,” उनले भने।
अधिकारीको यो घोषणाले आगामी निर्वाचनमा नेतृत्वको दौडधुपमा नयाँ मोड ल्याएको छ भने अन्य सम्भावित उम्मेदवारहरूलाई अझ सक्रिय बनाएको छ।
-प्राविधिक त्रुटीका कारण यो समाचार सच्याइएको छ । सम्पादक