काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) को चुनावी मैदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा झड्का लागेको छ। ओलीले खुलेर समर्थन गरेका उम्मेदवार ओमप्रसाद थपलिया अध्यक्ष पदमा पराजित भएका छन्।
अध्यक्ष पदमा अमर थापाले २५३ मत प्राप्त गर्दै थपलियालाई ४३ मतको अन्तरले पछि पार्दै चुनावी मैदानमा जित निकालेका छन्। पार्टी अध्यक्ष ओलीसहित प्रभावशाली नेता भानुभक्त ढकाललगायतका नेताहरूको खुलेआम समर्थन हुँदासमेत थपलिया पराजित हुनु, एमाले नेतृत्वका लागि निकै महत्वपूर्ण सन्देश बनेको छ।
यो चुनावले ‘पार्टी समर्थन मात्रै पर्याप्त हुँदैन’ भन्ने एउटा स्पष्ट सन्देश दिएको छ । उम्मेदवारको लोकप्रियता, पेशागत छवि र आन्तरिक संगठनको जनसमर्थन अब निर्णायक बन्दै गएको देखिएको छ।
उपाध्यक्ष खुला पदमा भीमसेन वञ्जारा निर्विरोध निर्वाचित भए भने महिला उपाध्यक्षमा यसोदा देवी खरेलले ३०५ मत ल्याएर हिमा देवी बस्नेतलाई सहजै पराजित गरिन्, जसले १५२ मत प्राप्त गरिन्।
महासचिव पदमा भुवन प्रसाद निरौला १६३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी चूडामणि पौडेलले ७४, शिव अर्यालले ११६, देवी प्रसाद भट्टराईले ८३ र शान्तिराम खतिवडाले २७ मत पाए।
उपमहासचिवमा बाबुराम राई २१७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत प्राप्त गरे।
सचिव पदमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतसहित विजयी बने। अधिकारी र हरिप्रसाद मैनालीबीच बराबर १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी विजयी भएका हुन्। अर्की सचिव पदकी उम्मेदवार अनिता गुरुङ २२७ मतसहित विजयी हुँदा राधिका खतिवडाले २२२ मतमा चित्त बुझाउनुपर्यो।
यो चुनावी परिणामले पीपीएलएको नेतृत्वमा नयाँ पुस्ता, स्वतन्त्र सोच र जनआधारको उदय भएको संकेत दिएको छ। ‘सिङ्गो पार्टीको समर्थन’ भन्दा माथि उठेर उम्मेदवारको व्यक्तिगत हैसियतले निर्णायक भूमिका खेल्न थालेको पुष्टि भएको छ।
-यो समाचार पुनःलेखन गरि प्रकाशित गरिएको छ । सम्पादक