काठमाडौं । सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक र धार्मिक विद्वेष फैलाउने सामग्री प्रस्तुत गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सामाजिक सञ्जाल टिकटक (TikTok) मा नियोजित ढंगले जातीय तथा साम्प्रदायिक भावना भड्काउने, व्यक्तिहरू तथा संस्थाहरूलाई लक्षित गर्दै तथ्यहीन विषयवस्तु फैलाउने कार्यमा संलग्न एक युवतीलाई पक्राउ गरिएको हो।
प्रहरीले उक्त युवतीले सामाजिक सौहार्दमा खलल पुर्याउने खालका अभिव्यक्ति दिई सामाजिक सञ्जालमा पोस्ट गरेपछि आवश्यक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानबाट ती युवती झापा जिल्लाको हल्दिबारी गाउँपालिका–६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएकी वर्ष २२ की रमातमाया तामाङ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोले जानकारी दिएको छ। उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा गलत सूचना तथा घृणात्मक अभिव्यक्तिहरू प्रस्तुत नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।