काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) फेरिएका छन्। बिहीबार इजलासमै न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि भएको मोसो प्रहारको घटनापछि सुरक्षा व्यवस्थामा व्यापक हेरफेर गरिएको हो।
पर्साका प्रहरीका अनुसार १३ जना न्यायाधीशहरूका पिएसओहरू फिर्ता बोलाइएका छन्। त्यससँगै अदालतको सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको १० जनाको टोली पनि फिर्ता गरिएको छ। प्रहरीका अनुसार नयाँ पिएसओहरू खटाइसकिएको छ । पहिले १० जना प्रहरी मात्र खटिएकोमा अब अदालतको सुरक्षा मजबुत बनाउन १५ जना नयाँ प्रहरी परिचालन गरिएको छ।
बिहीबार नेकपा (बहुमत) का केही कार्यकर्ताहरूले कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताव आलमसम्बन्धी मुद्दामा सफाइ दिएको विषयलाई लिएर इजलासमै पसेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका थिए। सो घटनापछि उच्च अदालत परिसरको सुरक्षालाई थप कडा बनाइएको हो।