न्यायाधीशमाथि भएको आक्रमणप्रति निगरानी समितिको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

काठमाडौं । उच्च अदालत जनकपुरको बीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश शुभु शर्मा थापामाथि अदालत प्रवेश गरी भएको शारीरिक आक्रमणप्रति जवाफदेहीता निगरानी समिति Accountability Watch Committee (AWC) ले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ। समितिले यस्तो किसिमको आक्रमण न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि गम्भीर हमला भएको जनाएको छ।

AWC का अनुसार हालैका दिनहरूमा न्यायालयमा हुने बहस, फैसलाका विषयमा असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा नाराबाजी, आक्रोश, मानसिक त्रास फैलाउने गतिविधिहरू बढ्दो क्रममा रहेको र यसले समग्र न्याय प्रणालीलाई धम्की दिने खालको अवस्था सिर्जना भएको छ।

वक्तव्यमा भनिएको छ, “न्यायपालिका कुनै पनि फैसला, आदेश वा कामकारबाहीप्रति आलोचना गर्न, असहमति जनाउन वा प्रश्न उठाउन सकिने स्वतन्त्र निकाय हो। तर शारीरिक आक्रमण, धम्की, मानसिक त्रास फैलाउने जस्ता अपराधिक कार्यहरू कानुनी राज्यका लागि अस्वीकार्य छन्।”

न्यायपालिकाको स्वतन्त्रता, स्वाभाविक निर्णय प्रक्रिया र निष्पक्षताको वातावरण जोगिनु अत्यन्त जरूरी भएको उल्लेख गर्दै समितिले न्यायाधीश, वकिल, अदालत प्रशासन तथा अदालतसँग सम्बन्धित सबै पक्षको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकार र सुरक्षा निकायलाई आग्रह गरेको छ।

समितिले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तुरुन्तै पहिचान गरी कानुनी कारबाही गर्न, पुनः यस्ता घटना दोहोरिन नदिन विशेष सुरक्षा रणनीति अपनाउन र समग्र न्यायिक वातावरण सुरक्षित बनाउन सुझाव दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज