ओम अस्पतालको लापरवाही पुष्टि, ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

काठमाडौं । उपचारमा लापरवाही भएको ठहर गर्दै उपभोक्ता अदालतले चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।

उक्त मुद्दामा अदालतको इजलास रामप्रसाद शर्मा (अध्यक्ष), गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेल (सदस्यहरू) को संयुक्त निर्णयमा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन आदेश दिएको हो। अदालतका स्रेस्तेदार शोभाकर खरेलका अनुसार अस्पताललाई ८० प्रतिशत जिम्मेवार ठहर गरिएको छ भने, उपचारमा संलग्न दुई चिकित्सकलाई १०–१० प्रतिशतका दरले क्षतिपूर्ति तिर्न भनिएको छ।

बसन्त गौतमले आफ्नो बुबा हरिहरप्रसाद गौतमको उपचारमा लापरवाही भएको आरोप लगाउँदै ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।

९८ वर्षीय हरिहरप्रसाद गौतम २०८१ साल माघ ५ गते बाथरुममा लडेपछि खुट्टा टेक्न नसक्ने अवस्थामा पुगेका थिए। त्यसपछि ओम अस्पतालको आपत्कालीन कक्षमा भर्ना गरिएको थियो। उजुरीअनुसार अस्पतालले सामान्य परीक्षण गरी एक्स-रेमा केही देखिएन भन्दै सामान्य पेन किलर इन्जेक्सन र औषधि दिएर डिस्चार्ज गरिदिएको थियो।

तर चार दिनसम्म पीडितको स्वास्थ्यमा सुधार नआएपछि परिवारले अर्को अस्पतालमा लग्दा खुट्टाको फ्याक्चर भएको पुष्टि भएको थियो। समयमा सही उपचार नपाएर थप जटिलता उत्पन्न भई केही समयपछि गौतमको निधन भएको पीडित पक्षको भनाइ छ।

उपभोक्ता अदालतले घटनामा अस्पतालको लापरवाही पुष्टि भएको ठहर गर्दै ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो। यो फैसलाले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई थप जिम्मेवार र उत्तरदायी बन्न सन्देश दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज