पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा पक्राउ पुर्जी जारी

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दर्ता भएपछि ब्यूरोले काठमाडौं जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो। अदालतबाट अनुमति पाएसँगै पाठकविरुद्ध औपचारिक रूपमा पक्राउ पुर्जी जारी भएको हो।

प्रहरीले पाठकमाथि कसले उजुरी दर्ता गराएको र के विषयमा दर्ता गरिएको भन्नेबारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ। यद्यपि अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र थप विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ।

तीन साता अघि पाठकले आफ्नो युट्युब च्यानल ‘टफ टक’ मार्फत नक्शालस्थित हिल्टन होटलको सेयर कारोबारसम्बन्धी भिडियो सार्वजनिक गरेका थिए। उक्त सामग्रीमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको नाम जोड्दै अन्तर्राष्ट्रिय रियलस्टेट कारोबार तथा शंकर ग्रुपसँगको सम्बन्धबारे दाबी गरेका थिए।

पाठकका दाबीहरूलाई शंकर ग्रुपले अस्वीकार गर्दै २१ वैशाखमा विज्ञप्ति प्रकाशित गरेको थियो। विज्ञप्तिमा यस्ता समाचारले व्यापारिक प्रतिष्ठा र राजनीतिक व्यक्तित्वको छविमा गम्भीर असर पार्ने भन्दै कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको थियो।

यसै सिलसिलामा पत्रकार पाठकमाथि उजुरी परेको र सोही उजुरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको अनुमान गरिएको छ। यो समाचार तयार गर्दासम्म पाठक पक्राउ परेका छैनन् भने प्रहरी उनको खोजीमा रहेको बुझिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज