काठमाडौं। सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक तयार गर्ने तयारी गरेको छ। मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले यस विषयमा जानकारी दिएका हुन्।
गृहमन्त्री लेखकले बताएअनुसार, सरकारले संविधानको भावना र व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरूले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छुट्टै विधेयकमार्फत गर्नेछ।
‘गैरआवासीय नेपाली नागरिकताको विषयमा सरकार बेग्लै विधेयक ल्याउँदैछ,’ उनले भने, ‘यसमा प्राप्तकर्ताले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने प्रावधान गरिनेछ।’
परराष्ट्र मन्त्रालयको नेतृत्वमा तयार भइरहेको यो विधेयक हाल गृह मन्त्रालयमा पनि पठाइएको छ। मन्त्री लेखकले यो विधेयक छिट्टै संसद्मा पेश गरिने बताए।
उनले थपे, ‘यो विधेयकमा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी सबै अधिकारहरू स्पष्ट पारिनेछ र त्यसमा नागरिकताको विषयलाई समेटिनेछ।’
यसैगरी गृहमन्त्री लेखकले गोर्खा सैनिकहरूको नागरिकता सम्बन्धी समस्या समाधान गर्न नेपाल नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको बताए। तर उनले भने, ‘गोर्खा सैनिकहरूले उठाएको माग संविधानसँग सम्बन्धित छ, विधेयक मात्रले समाधान हुँदैन।’
गोर्खा सैनिकहरूले बेलायतको नागरिकता पाए पनि नेपालको वंशज नागरिकताको निरन्तरता दिनुपर्ने माग गर्दै आएका छन्। यो विषयमा अझै छलफल भइरहेकाले संवैधानिक तहमा ध्यान दिनुपर्ने उनले स्पष्ट पारे।