काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्, एकेडेमी समितिको आयोजनामा, अधिवक्ताहरूको क्षमता अभिवृद्धिका लागि तीनवटा कानुनी विषयमा तालिम सञ्चालन गर्ने भएको छ। परिषद्ले संविधानिक, वाणिज्य, देवानी तथा फौजदारी कानुन विषयमा केन्द्रित रहेर १० वर्ष मुनिका अधिवक्ताहरूका लागि आधारभूत तालिम तथा १० वर्षभन्दा बढी अनुभव भएका अधिवक्ताहरूका लागि विशिष्टीकृत तालिम सञ्चालन गर्ने तयारी गरेको हो।
परिषद्को कार्यालय कुपण्डोल, ललितपुरमा तालिमहरू सञ्चालन गरिनेछन्। तालिमको पहिलो चरणमा फौजदारी कानुन विषयमा आधारभूत तालिम २०८२ साल असार ४ गतेदेखि सुरु हुनेछ। दोस्रो चरणमा, देवानी कानुन विषयमा आधारभूत तालिम २०८२ असार १५ गतेदेखि सुरु हुने छ। तेस्रो र अन्तिम चरणमा वाणिज्य कानुन विषयमा विशिष्टीकृत तालिम २०८२ असार २५ गतेदेखि सञ्चालन हुने तय गरिएको छ।
प्रत्येक तालिममा अधिकतम ४० जना सहभागी हुने व्यवस्था मिलाइनेछ। यसैले प्राथमिकताका आधारमा पहिला नाम दर्ता गर्ने अधिवक्ताहरूलाई तालिममा समावेश गरिनेछ। तालिम दैनिक बिहान ९ बजेबाट सुरु भई ११ बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाको दिनबाहेक नियमित तालिम सञ्चालन हुने परिषद्ले जानकारी दिएको छ।
आधारभूत तालिममा सहभागी हुने अधिवक्ताले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने विशिष्टीकृत तालिमका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ।
नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि नियमित रूपमा तालिम सञ्चालन गर्दै आएको छ। यो तालिमसमेत सोही प्रयोजनको निरन्तरता स्वरूप सञ्चालन हुन लागेको हो। परिषद्ले समयमै आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गरी नाम दर्ता गर्न सम्बन्धित अधिवक्ताहरूलाई आग्रह गरेको छ।