ललितपुर । विद्युत् सेवा अवरुद्ध हुनु पूर्व उपभोक्तालाई अनिवार्य रूपमा जानकारी दिनुपर्ने व्यवस्था गरिनु पर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।
कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा नेपाल विद्युत् प्राधिकरण (नेपाले) तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइएको छ। रिटमा कुनै पनि कारणले विद्युत् आपूर्ति अवरुद्ध गर्नुपरेमा एसएमएस वा अन्य प्रभावकारी माध्यम प्रयोग गरी उपभोक्तालाई पूर्व सूचना दिनुपर्ने व्यवस्था सुनिश्चित गर्न अदालत समक्ष आग्रह गरिएको छ।
चौधरीले दायर गरेको रिटमा नेपालको संविधानको धारा २७ अनुसार नागरिकको सूचना प्राप्त गर्ने हकको प्रत्याभूति गर्दै, सेवाप्रवाहमा पारदर्शिता, उपभोक्ताप्रति उत्तरदायित्व र मौलिक हकको संरक्षण आवश्यक भएको उल्लेख गरिएको छ।
रिट निवेदनमा अदालतसमक्ष परमादेश जारी गरी भविष्यमा हुने विद्युत् अवरुद्धको पूर्व जानकारी अनिवार्य गराउन माग गरिएको छ।
उक्त रिट निवेदनमाथि सोमबार सुनुवाइ हुने मिति तोकिएको छ।
हाल देशका विभिन्न स्थानमा नियमित मर्मत तथा आपूर्ति व्यवस्थापनका कारण अकस्मात् विद्युत् काटिने समस्या देखिंदै आएको छ, जसका कारण उपभोक्ता मर्कामा परिरहेका छन्। यसअघि पनि विभिन्न क्षेत्रबाट विद्युत् पूर्व सूचना नपाएको गुनासो बढिरहेको पाइएको थियो।