संखुवासभा । तोकिएको समयभन्दा अगावै सडक कालोपत्रे कार्य सम्पन्न गर्ने श्रमिकलाई सभापोखरी गाउँपालिका, संखुवासभाले आज सम्मान गरेको छ।
गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बुका अनुसार, सभापोखरी गाउँपालिकाको केन्द्र बाह्विसेबाट खाँदबारीसम्मको २९ किलोमिटर सडकखण्ड अन्तर्गत यस वर्ष सभाखोला देखि धुपुखोलासम्मको २४ सय मिटर सडक कालोपत्रे गरिएको थियो। यो काम तोकिएको समयभन्दा डेढ महिना अगावै सम्पन्न भएको हो।
निर्माण कार्य समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै गाउँपालिकाले सो कार्यमा प्रत्यक्ष संलग्न २५ जना श्रमिकलाई प्रमाणपत्र र पाँच सय रुपैयाँ नगदसहित सम्मान गरेको हो।
“सर्वत्र ठूला र उच्च पदस्थ व्यक्तिलाई मात्र सम्मान गरिन्छ। तर वास्तविक मेहनत गर्ने त श्रमिकहरू हुन्। उनीहरूलाई पनि प्रोत्साहन मिलोस् भनेर हामीले सम्मान गरेका हौं,” अध्यक्ष लिम्बुले कानुन खबरसँग भने।
गाउँपालिकाबाट सम्मान पाएका श्रमिक ठेकु सरदारले सम्मान पाउँदा आफू अत्यन्तै खुसी भएको बताए। “हामीजस्ता काम गर्ने मान्छेलाई कोले सम्मान गर्छ र? यो गाउँपालिकाले हामीलाई सम्झिएर सम्मान गर्यो, एकदमै खुसी लाग्यो,” उनले भने।
गाउँपालिकाको केन्द्र बाह्विसे देखि खाँदबारीसम्मको २९ किलोमिटर सडकमध्ये सभापोखरी गाउँपालिका भित्र मात्रै २० किलोमिटर पर्छ। यो सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रे भइरहेको हो। अध्यक्ष लिम्बुका अनुसार, गत वर्ष र चालु वर्ष गरी करिब पाँच किलोमिटर सडक कालोपत्रे गरिएको छ।
गाउँपालिकाको यस्तो पहलले निर्माण क्षेत्रमा श्रमिकहरूको योगदानलाई कदर गर्दै आगामी दिनमा समेत श्रमलाई सम्मान गर्ने संस्कारको सुरुवात गरेको भन्दै सर्वत्र प्रशंसा गरिएको छ।