सवारी चालक अनुमतिपत्रमा भ्रष्टाचार : रुपन्देहीका ४ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । रुपन्देहीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा भएको भ्रष्टाचारसम्बन्धी घटनामा संलग्न चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नुपर्ने कानुनी प्रक्रिया नअपनाई गलत विवरण प्रविष्ट गरी अनुमति पत्र जारी गरिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ४ की सभ्यता के.सी.ले सवारी चालक अनुमतिपत्र Category B (Car, Jeep, Delivery Van) प्राप्त गर्नका लागि आफ्नै नामबाट प्रक्रिया नअपनाई अर्का व्यक्तिको Applicant ID 8401685 दुरुपयोग गरेकी थिइन्। सो कार्यमा रुपन्देही यातायात कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, र तुलसीपुर, दाङस्थित कार्यालयका कम्प्युटर अपरेटर अनिल बुढामगर संलग्न रहेको आयोगले जनाएको छ।

उनीहरूले २०७८ साल चैत ७ गते (2022 मार्च 21) मा सवारी चालक अनुमतिपत्र प्रणाली (EDLVRS) मार्फत अर्का व्यक्तिको नाममा जारी गरिएको अनुमतिपत्रलाई परिवर्तन गरी सभ्यता के.सी.को नाममा अद्यावधिक गरेका थिए। लाइसेन्सको लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएकी सभ्यता के.सी.को नाममा विवरण प्रविष्ट गरी गलत लिखत तयार पारिएको र सो लाइसेन्स प्रयोगमा समेत ल्याइएको पाइएको आयोगको दाबी छ।

EDLVRS प्रणालीमा एक पटक उत्पन्न भएको Applicant ID अर्को व्यक्तिको नाममा उत्पन्न हुन नसक्ने स्पष्ट नियम रहेको अवस्थामा सरकारी प्रणालीमा जानाजान विवरण सच्याई सरकारी अभिलेखमा छेडछाड गरिएको पाइएको छ। आयोगका अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसूरमा पर्छ।

साथै, सभ्यता के.सी.लाई पनि सोही ऐनको दफा २२ बमोजिम मुख्य कसूरदारसरह कैद तथा जरिवानाको मागदाबी सहित आरोपपत्र पेश गरिएको आयोगले जनाएको छ।

विशेष अदालत, काठमाडौंमा आज दर्ता गरिएको यो मुद्दाले सार्वजनिक सेवा प्रणालीमा हुने अनियमितता तथा मिलेमतोको प्रवृत्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको आयोगको भनाइ छ।

सम्बन्धित समाचार

ताजा न्यूज