कांग्रेस सांसद बजगाईंको सनसनीपूर्ण खुलासा: डा. शशांकले घुस लिए !

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शशांक कोइरालामाथि गम्भीर घूस आरोप सार्वजनिक भएको छ। पार्टीकै अर्का सांसद राजेन्द्र बजगाईंले सामाजिक सञ्जालमार्फत डा. कोइरालाले तीनवटा एसयूभी (एक किया र दुई महिन्द्रा), सुनको रोलेक्स घडी र दुईवटा नगदले भरिएका झोला घुसस्वरूप लिएको दाबी गरेका छन्।

बजगाईंले आफ्नो आधिकारिक एक्स (ट्विटर) अकाउन्टमार्फत उक्त आरोप लगाउँदै लेखेका छन्, “म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस्। तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ।”

बजगाईंका अनुसार यी सम्पूर्ण वस्तुहरू डा. कोइरालाले सरकारको राजनीतिक नियुक्तिमा प्रभाव पार्नका लागि घूसस्वरूप लिएका हुन्। यति गम्भीर आरोप सार्वजनिक रूपमा पार्टीभित्रकै सांसदबाट आउनु स्वयं कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिको संकेतका रूपमा लिइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीरहरूमा डा. शशांक कोइराला महिन्द्राको नयाँ गाडी ग्रहण गरिरहेको देखिन्छन्, जसले बजगाईंको दाबीलाई थप पुष्टि गर्न थालेको छ।

यस विषयमा अहिलेसम्म डा. शशांक कोइरालाको कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर राजनीतिक विश्लेषकहरू यसलाई नेपाली राजनीतिमा बढ्दो शक्ति संघर्ष र नैतिकताको सवालसँग जोडेर हेरिरहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज