जेलमुक्त भएसँगै युनुस अन्सारी सिआइबीको हिरासतमा, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । नक्कली भारतीय रुपैयाँ प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी कारागारमुक्त भएका युनुस अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

शनिबार नख्खुस्थित कारागारबाट छुटेलगत्तै अन्सारीलाई सिआइबीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा नियन्त्रणमा लिएको हो। सिआइबीका एसएसपी होबिन्द्र बोगटीका अनुसार अन्सारीमाथि ‘सम्पत्ति शुद्धीकरण (सजाय निवारण) ऐन २०६४’ बमोजिमको मुद्दा अझै बाँकी रहेकाले थप अनुसन्धानका लागि हिरासतमा लिइएको हो।

‘उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान आवश्यक भएकाले कारागारबाट छुट्नेबित्तिकै नियन्त्रणमा लिएका हौं,’ बोगटीले जानकारी दिए।

प्रहरीले अन्सारीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइसकेको छ। अदालतले उनलाई पाँच दिनसम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

अन्सारी सन् २०१९ (वि.सं. २०७६) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। उनले कतारबाट आएका तीन जना पाकिस्तानी नागरिकलाई विमानस्थलमा लिन जाँदा उक्त रकमसहित पक्राउ परेका थिए।

यो घटनाअघि पनि अन्सारी नक्कली नोट काण्डमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका थिए। त्यतिबेला उनी कारागारभित्रै गोली प्रहारको शिकार भएका थिए, तर उनी गम्भीर घाइते भएका थिएनन्।

सिआइबीले अहिले अन्सारीसँग विगतका गतिविधि, संलग्नता, र स्रोत नखुलेको सम्पत्तिका विषयमा सोधपुछ गरिरहेको बताइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज