काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक हितका लागि सत्यमा आधारित अभिव्यक्तिले अदालतको अवहेलना नहुने स्पष्ट पारेका छन्।
सर्वोच्च अदालतमा दायर अवहेलनासम्बन्धी मुद्दामा थापाले बुधबार अधिवक्ता अमृतकुमार केसीमार्फत लिखित जवाफ पेश गर्दै आफूले न्यायालयको क्षेत्राधिकारमा हस्तक्षेप गर्ने वा विचाराधीन मुद्दामा प्रभाव पार्ने कुनै मनसाय नरहेको बताएका हुन्।
अदालतप्रतिको जनविश्वास कायम राख्न सबै लाग्नुपर्ने उल्लेख गर्दै उनले आफ्नो अभिव्यक्ति समाधान खोज्ने उद्देश्यले दिइएको र त्यसलाई अवहेलनाका रूपमा नलिन अनुरोध गरेका छन्।
गगन थापाविरुद्ध वैशाख ११ मा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ताहरू अनन्तराज लुँईटेल, प्रतिभा उप्रेती र विशाल थापाले अवहेलना मुद्दा दायर गरेका थिए।