काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नाममा अनधिकृत रूपमा पक्राउ पत्र लेखेको अभियोगमा पक्राउ परेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार यस्तो आदेश दिएको हो। विष्टले सर्वोच्च अदालतको नाममा अनधिकृत ढंगले पत्र तयार गरी रेशम चौधरीलाई पक्राउ गर्न र डिल्लीबजार कारागार चलान गर्न निर्देशन दिएका थिए। सो पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेपछि प्रहरीले रेशम चौधरीलाई नियन्त्रणमा लिएर कारागार चलान गरेको थियो।
तर पछि सो पत्र अधिकारिक नभएको पुष्टि भएपछि रेशम रिहा गरिए। त्यही अनधिकृत पत्र तयार गरेको आरोपमा विष्टमाथि लिखतसम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरिएको थियो।
अब अदालतको आदेशपछि महिमान सिंह विष्टलाई तारेखमा छाडिएको छ भने प्रकरणको थप कानुनी प्रक्रिया अघि बढ्नेछ।