काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रको तर्फबाट गरिएको सूचना प्रविधिसम्बन्धी ठेक्का प्रक्रियामा गैरकानुनी लाभ लिएको र संस्थालाई हानी पुर्याएको दाबी गरिएको छ।
आयोगका अनुसार, राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी–६–०७५/०७६ शीर्षकको खरिदका लागि अनुमानित लागत रु २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ थियो। सो योजनामा म्याक्स इन्टरनेशनल कम्पनीले २०७६ असार ४ गते पेश गरेको प्रस्तावअनुसार ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकमा रु २ करोड ६५ लाख र ‘अनसाइट सपोर्ट’ शीर्षकमा रु ३ करोड १४ लाख भ्याट बाहेकको भुक्तानी लिएको उल्लेख गरिएको छ।
आयोगले यो प्रक्रिया नियमविपरीत, पारदर्शिता र मूल्य–परिमाणको सिद्धान्त विपरित भएको ठहर गर्दै कार्यकारी निर्देशक पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल र अन्य तीन जनामाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको मागसहित मुद्दा दायर गरेको हो।
अब यो मुद्दामा विशेष अदालतले अनुसन्धानको आधारमा सुनुवाइ अगाडि बढाउनेछ।