पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा.देवीलाल शर्मामाथि कुटपिट

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा.देवीलाल शर्मामाथि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमै कुटपिट गरेका छन्। शर्मामाथि वैशाख ३० गते मंगलबार कुटपिट भएको हो।

अनेरास्ववियु पिएन क्याम्पस कमिटीका संयोजक तथा स्ववियुका सचिव विराट दुवाडीको नेतृत्वमा आएको टोलीले डा. शर्मामाथि आक्रमण गरेको हो। स्ववियु सदस्य सुशिल अधिकारी, अनेरास्ववियुका विक्रम क्षेत्री, विद्यार्थी अमृत विक लगायतको टोली पनि घटनामा संलग्न थिए। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

घटना सम्बन्धी विवाद एमबिए तेस्रो वर्षका विद्यार्थी अमन परियारको गुनासोबाट सुरु भएको हो। परियारका अनुसार, वैशाख २५ देखि २९ सम्मको शैक्षिक भ्रमणका क्रममा डा. शर्माले जातीय विभेदसहित अपमानजनक तथा अश्लील शब्द प्रयोग गरेका थिए। विशेषगरी सिन्धुलीमा बस बिग्रिएको समयमा शर्माले ती शब्द प्रयोग गरेको आरोप छ।

विद्यार्थीको गुनासोपछि क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले डा. शर्मामाथि छानबिन गरी उनलाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाउने निर्णय गरेका थिए। सोही दिन विवाद छलफलका क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमै कुटपिट भएको हो।

 

सम्बन्धित समाचार

ताजा न्यूज