कञ्चनपुर । निर्मला पन्त बलात्कार र हत्या प्रकरणसँग जोडिएर अभिव्यक्ति दिएका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरले एक महिनाको कैद सजाय सुनाएको छ। साथै, उनले एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
अदालतका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार पत्रकार भण्डारीमाथि तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका थिए।
भण्डारीले सन् २०१८ मा भएको निर्मला पन्त बलात्कार र हत्या घटनापछि सामाजिक सञ्जाल तथा आफ्ना रिपोर्टमार्फत किरणराज विष्टलाई पनि आरोपित गर्दै आएका थिए। ती अभिव्यक्तिहरू प्रमाणविहीन र मानहानीपूर्ण ठहर गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो।
वि.सं. २०७५ साउन १० गते महेन्द्रनगरस्थित उल्टाखाममा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो। उनको शव साउन ११ गते बिहान घर नजिकैको उखुबारीमा भेटिएको थियो।