काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत आफ्नो पदबाट निलम्बित भएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेराम्याक्स प्रकरणमा संलग्न रहेको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनको सांसद पद स्वतः निलम्बित भएको हो।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा सो व्यक्ति पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ।
अख्तियारले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाउँदै तीन अर्बभन्दा बढी बिगो मागसहित मुद्दा दर्ता गरेको हो।
बस्नेत पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका थिए। अब उनको सांसद पदको जिम्मेवारी निलम्बनमा रहेकाले प्रतिनिधिसभामा उपस्थित हुने, मतदान गर्ने तथा समितिमा सहभागिता जनाउने अधिकार रहने छैन।