काठमाडौं । सामाजिक सञ्जालमा बुधबार बिहानदेखि ट्राफिक प्रहरीले एक तल्लो तहका प्रहरीलाई कुटपिट गरेको भिडिओ भाइरल बनेको छ। भिडिओमा ट्राफिक प्रहरीले सडकको बीचमै प्रहरीले मोबाइल हेर्दै गरेको अवस्थामा थप्पड हानी लछारपछार गरेको देखिन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार घटनास्थल नागढुङ्गा प्रहरी प्रभाग हो। भिडिओमा देखिने ट्राफिक प्रहरी भने प्रभाग प्रमुख जितेन्द्र कुमार साह हुन्, जसले प्रहरी सहायक हवल्दार अमर खड्कामाथि हातपात गरेका थिए।
भिडिओ भाइरल भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाबारे छानबिन थालेको छ। कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले घटनाको सत्यतथ्य बुझ्न सम्बन्धित कमान्डरलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए।