काठमाडौं। दक्षिण कोरियामा भाषा तथा स्नातक तहको अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अब वैदेशिक अध्ययन अनुमति पत्र (NOC) सहजै पाउने छैनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रक्रियामा अनिश्चितकालीन रोक लगाएको छ।
मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले कोरियाको D-2 (स्नातक अध्ययन) र D-4 (भाषा अध्ययन) भिसामा जाने विद्यार्थीलाई अब एनओसी नदिइने जानकारी गराएको हो। मन्त्रालयले यी भिसाको दुरुपयोग रोक्न कार्यदल गठन गर्ने र कार्यदलको प्रतिवेदनका आधारमा मात्रै आगामी निर्णय लिइने स्पष्ट पारेको छ।
सरकारको भनाइअनुसार, धेरै नेपाली विद्यार्थी अध्ययनको नाममा कोरिया गए पनि प्राथमिकता रोजगारी लाई दिने गरेका छन्। केही विद्यार्थी कम स्टडी आवर भएका विश्वविद्यालयमा भर्ना भएर कामलाई मुख्य बनाएर अध्ययनमा कमजोरी देखाइरहेका छन्। कोरियाले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने क्रम नरोकिएकाले गम्भीर असर परिरहेको छ।
मन्त्रालयले थप उल्लेख गरेको छ कि कोरियाली कन्सल्टेन्सी तथा एजेन्टहरू विद्यार्थीलाई “गएलगत्तै काम पाउने” भनेर प्रलोभन देखाउने गरेका छन्। तर वास्तविकता फरक हुँदा विद्यार्थीहरू मानसिक तनाव, कानुनी समस्यासहित अनेक कठिनाइमा फस्ने गरेका छन्।
यो निर्णयसँगै अहिले कोरिया जान तयारीमा रहेका सयौँ विद्यार्थी प्रभावित हुने देखिन्छ। मन्त्रालयले सबैलाई कार्यदलको प्रतिवेदन सार्वजनिक नभएसम्म धैर्य गर्न अनुरोध गरेको छ।