काठमाडौं । नेपाल बार एसोसिएसनले सबै बार इकाइहरूलाई सदस्यता प्रदान प्रक्रिया सहज बनाउन निर्देशन दिएको छ।
नेपाल बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले आज सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका बार इकाइहरूलाई पत्र पठाउँदै विधिवत रूपमा सदस्यता प्रक्रियामा सहकार्य गर्न तथा निष्पक्ष र पारदर्शी ढंगले सदस्यता प्रदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएका हुन्।
पत्रमा बार एसोसिएसनले आफ्नो स्थापना कालदेखि नै स्वतन्त्र न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको संरक्षणका लागि निरन्तर काम गर्दै आएको स्मरण गराइएको छ।
एसोसिएसनले २०७८ सालमा संशोधित बार विधानको धारा ५, ६ र ७ बमोजिम योग्यता पुगेका कानुन व्यवसायीहरूलाई सदस्यता प्रदान गर्ने प्रक्रिया सहज, छरितो र प्रविधिमैत्री बनाउन आग्रह गरेको छ। साथै, सदस्यता स्थापनाका लागि आवश्यक कार्यहरू आधुनिक वैज्ञानिक प्रविधि प्रयोग गरी दोहोरिन नदिने गरी निष्पक्ष र पारदर्शी ढंगले अघि बढाउन पत्रमा उल्लेख गरिएको छ।
बार एसोसिएसनले सदस्यता व्यवस्थापनलाई संस्थागत बनाउनका लागि सबै सरोकारवाला बार इकाइहरूको सक्रिय सहकार्य आवश्यक रहेको पनि स्पष्ट पारेको छ।