काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नाममा गैरकानुनीरूपमा कैद गर्न पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
विष्टलाई सोमबार सर्वोच्च अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो। उनलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
स्रोतका अनुसार विष्टको नामबाट जारी गरिएको पत्र शंकास्पद देखिएको थियो र कानुनसम्मत प्रक्रिया नअपनाइ पठाइएको भन्दै अनुसन्धान थालिएको हो। सोही पत्रको वैधानिकता विवादित भएपछि सर्वोच्च अदालतले अर्को पत्रमार्फत रेशम चौधरीलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले अदालतको समन्वयमै विष्टलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। “पत्र कानुनसम्मत नदेखिएकाले आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो,” कुईकेलले बताए।
विष्टलाई पक्राउ गरिएसँगै यस घटनाले न्याय प्रशासनभित्रको प्रक्रियागत त्रुटि र गम्भीरताको प्रश्नसमेत उठाएको छ।