वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सो विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

सो विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुभएकी कोशी प्रदेशसभा सदस्य कमला दर्नालको प्रस्तावलाई आंशिक रुपमा मन्त्री मण्डलले स्वीकार गर्नुभएपछि उक्त प्रस्ताव सदस्य दर्नालले फिर्ता लिनुभएको थियो ।
‘कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । दफावार छलफलका लागि मन्त्री मण्डलले प्रदेशसभामा सो प्रस्ताव पेश गर्नुभएको थियो ।

कोशी प्रदेशसभा सञ्चालन नियमावली, २०७९ को अन्तिम मस्यौदाको प्रस्तावलाई प्रदेशसभा नियमावली मस्यौदा समितिमा पठाइएको छ । मस्यौदा समितिका संयोजक कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले सो मस्यौदाको प्रस्तावमाथि परेका संशोधनसहित दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज