विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष शम्भु रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले आइतबार रौनियार पुर्पक्षको लागि कारागार चालन भएका हुन् ।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी एक सय दिनपछि अदालतमा उपस्थित भएका थिए ।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबीसहित २७ मङ्सिरमा मुद्दा दायर भएको थियो ।