कानून व्यवसायीका लागि ध्यान अति नै आवश्यक छ: अधिवक्ता दिपकराज जोशी

कानून व्यवसाय व्यस्त, जटिल र भावनात्मक रूपमा थकाउने क्षेत्र हो। दिनभर सेवाग्राहीको पीडा, मुद्दाको तनाव र निरन्तर दौडधूपबीच एकछिन पनि आफैंतिर फर्किन समय मिल्दैन। यस्तो पेसामा कार्यरतहरूले शारीरिकभन्दा पहिला मानसिक थकान अनुभूति गर्छन्। यही पृष्ठभूमिमा अधिवक्ता दिपकराज जोशीले नेपाल विपश्यना ध्यान केन्द्र, धर्मश्रृंगमा १० दिवसीय ध्यान साधनामा सहभागी भई गहिरो आत्मअनुभूति हासिल गरेका छन्। ध्यान केवल रोग निको पार्ने साधन होइन, जीवन बुझ्ने तरिका हो भन्ने विश्वासका साथ सहभागी भएका अधिवक्ता जोशीसँग ध्यान किन आवश्यक छ ? कानून व्यवसायजस्तो व्यस्त पेसामा ध्यानको भूमिका के हुन सक्छ ? र विपश्यनले उनीमा के परिवर्तन ल्यायो ? लगायतका विविध विषयमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कानून खबरले अधिवक्ता दिपकराज जोशीसँग कुराकानीको सक्षिप्त अंशः

प्रश्न: विपश्यना ध्यानमा गई रहनु हुन्छ है ?

जवाफ: हजुर गइरहन्छु । जानै पर्छ । नत्र त एक वर्ष काम गर्ने तागत नै बढ्दैन ।

प्रश्न: विपश्यना ध्यानमा त्यस्तो के हुन्छ रु जानै पर्ने के हुन्छ ?

जवाफ : विपश्यना ध्यानले हाम्रो फोहरले भरिएको मनलाई सफा राख्छ । सफा मनबाट गरिएको कामको परिणाम पनि सफा नै हुन्छ । यो एक मनलाई सफा गर्ने विद्या हो । जसले एक चोटि चाख्छ त्यसलाई बारम्बार चाख्न मन लागि रहन्छ । मलाई पनि त्यसको मनको शान्ति गरिरहन र मनलाई चित्तको स्तरबाट सफा गरिरहन मन लाग्छ । मन विकारले भरिँदै जाँदा यो शरीर पुरै ठोस जस्तो प्रतीत हुन्छ तर जब त्यता गएर गहिरिएर मन ध्यानमा लाग्छ हलुका हलुका हुँदै जाने रहेछ । त्यसैले गइरहन मन लाग्छ ।

प्रश्न : सबैले बुझ्ने भाषामा विपश्यना भनेको के हो ?

जवाफ : विपश्यना पाली भाषाको शब्द हो । जसमा पश्यना भनेको नाङ्गो आँखाले बाहिरी रूप आकृति हेर्नुलाई भनिन्छ भने विपश्यना भनेको आँखा बन्द गरेर मन र मनको स्वभावले ल्याउने तरङ्गलाई विशेष रूपले हेर्ने कुरालाई विपश्यना भनिन्छ । जन्म लिएपछि आँखा खोलेर बाहिर मात्र हेर्ने आदत थियो । गुरुजीले ल्याएर सिकाउनु भएको विद्याबाट मनको चाल र यसको चालको परिणामको साक्षात् दर्शन गर्न पाइन्छ । यसैलाई विपश्यना भनिएको हो ।

प्रश्न : गुरुजीले ल्याएर सिकाउनु भयो भन्नु भयो । कुन गुरुजीले कसरी किन सिकाउनु भयो खुलाई दिनु हुन्छ ?

जवाफ: अवश्य । पूजनीय गुरु श्री सत्यनारायण गोयन्काज्यू भयङ्कर रोगको सिकार हुन पुग्नु भयो र यो विद्यासँग साक्षात्कार भएर आफूलाई मात्र होइन आफ्नो सारा राज पाठ छोडेर हामीलाई सिकाउन लागी पर्नु भयो । हामीलाई आँखा बन्द गरेर अन्तरमुखी भएर सिल समाधि र प्रज्ञाको अभ्यास गर्न सिकाउनु भयो । गुरुजीले आफूले चैतसीकस्तरबाट लाभ लिएपछि समग्र मानव कल्याणले यसको मनको शान्ति गरुन् भन्ने लागेर नै अहिले विपश्यना ध्यान विश्वका अधिकांश देशमा फैलिएको छ । यो गुरुजीको पनि गुरु वर्मा देशका सयाजी उवाखिन परम्पराका आधारमा सत्यनारायण गोयन्का गुरुजीको निर्देशनमा विश्वभरि नै सिकाइन्छ । जुन तरिकाबाट सिकाइएको सोही तरिकालाई जस्ताको तस्तै कायम राख्नको लागि सीमित व्यक्तिहरूलाई प्रतिनिधिको रूपमा नियुक्त गरिएको हुन्छ ।

प्रश्न : यो ध्यानमा सहभागी हुँदा यसको प्रक्रिया र कति शुल्क लाग्छ रु भन्न मिल्छ ?

जवाफ : अवश्य मिल्छ । हामीले यो साधना विधिको विषयमा कसैलाई पनि सिकाउन मिल्दैन । तर प्रक्रियाको विषयमा मिल्छ नै । सबैभन्दा पहिला त अनलाइन वा केन्द्रमा गएर फाराम भर्नु पर्छ । बुढानीलकण्ठमा महिनाको दुई वटा शिविर हुन्छन् । बाँकी देशभरिका अन्य केन्द्रमा महिनाको एउटा मात्र शिविर हुने गर्छ । आफूलाई अनुकूल पर्ने स्थानमा जान सकिन्छ । १० दिनसम्म केन्द्रको अनुशासनमा बसेर ध्यान सिक्ने गर्नु पर्छ । यो ध्यान साधनामा सहभागी जो कोही हुन पाउनु हुन्छ भने यसमा सहभागी भयबापत कुनै पनि शुल्क लिने गरिँदैन । नि: शुल्क यो विद्या सिकाइन्छ । यसमा शुल्क लियौ भने होटेलको बिल तिर्छौ नि त्यसैले शुल्क लिन वर्जित छ ।

प्रश्न: अनि ध्यानको १० दिनसम्मको खर्च कसरी चल्छ ?

जवाफ: राम्रो प्रश्न सोध्नु भयो । १० दिन साधनाको खर्च यसअघि शिविर बसेर गएका साधक साधिकाहरूले गर्नु भएको दानको आधारमा चल्छ । अब भविष्यमा बस्नु हुनेले पनि त्यही सोचेर आफ्नो दानबाट आउने साधक साधिकाहरूले ध्यान गर्न सकुन् भन्ने मनसायले दान गर्ने हो । नकी हिसाब गरेर शुल्क तिर्ने हो । पैसा छैन भने शारीरिक रूपमा सेवा पनि गर्न सकिन्छ । धेय यही हो कि बढी भन्दा बढी साधक साधिकाले यो साधनाबाट लाभ लिउन ।

प्रश्न : तपाइ त वकिल मान्छे १० दिन ध्यान बस्नको लागि कसरी समय व्यवस्थापन गर्नु हुन्छ ?

जवाफ : विगतको श्रवण महिनाको पहिलो हप्तामा ३९ जना कानून व्यवसायीहरूले सहभागिता जनाउनु भएको थियो । यसपालि पनि १८ जनाको सहभागिता रहेको थियो । मैले मात्र होइन यतिका कानून व्यवसायीज्यूहरूले समय व्यवस्थापन गर्नु हुन्छ । चाहना हुनु पर्छ व्यवस्थापन हुन्छ । फेरी श्रावण महिनाको पहिलो हप्ता अदालतमा खासै काम हुँदैन । यो समय हाम्रा लागि निकै नै उपयोगी हुने रहेछ । त्यसैले मौका छोपेको हो ।

प्रश्न : कानून व्यवसायीलाई कतिको आवश्यकता छ यो ध्यान ?

जवाफ: कानून व्यवसायीलाई मात्र होइन सबै मानव जीवनको लागि आवश्यक छ । कानून व्यवसायी व्यस्त भइरहने व्यवसाय भएको हुँदा विभिन्न मुद्दा मामिला भएका सेवाग्राहीसँग सम्पर्क भइरहने भएको हुँदा हाम्रो मनमा अनेक किसिमका भावना आई सोही अनुसारको व्यवहार हुन जाने, तनावपूर्ण जीवन यापनमा आदत नै बन्न सक्ने जसका कारण हामीहरू नै शारीरिक र मानसिक रोगका सिकार हुन पुगी दुखी जीवन यापन गर्न बाध्य हुने जाने भएको हुँदा अति नै आवश्यक छ । म सबै न्याय कानूनको क्षेत्रमा काम गर्नेहरूलाई अनुरोध गर्न चाहन्छु कि जीवनमा एक पटक अनुभवको लागि भए पनि जानुहोस् । कुनै दैवी चमत्कार भन्दा पनि मानसिक सान्तीको लागि जानुहोस् । कुनै रोग निको पार्ने नाममा नभई मनलाई सफा गर्ने विद्या सिक्छु भनेर जानु भयो भने खुब प्रगति हुँदै जानेछ । जति बढी व्यस्त त्यति नै बढी मानसिक सान्तीको आवश्यकता हुने भएको हुँदा जानु अपरिहार्य नै देख्छु ।

प्रश्न : १०।१० दिनसम्म कसरी मनमा ध्यान लगाउन सक्नु हुन्छ रु घरको याद आउँदो होला । कार्यालयको कामको यादले सताउँछ होला नि । होइन ?

जवाफ : हो तपाइले सही भन्नु भयो । कार्यालयको कामले, घरको परिवारको यादले सताउँछ । यही सताउने मनको स्वभावलाई परिवर्तन गर्नको लागि त विपश्यना ध्यान गर्न गएको हो । मनको स्वभावलाई सोझ्याउनको लागि साढे तीन दिनसम्म स्वाभाविक श्वासको अनुगमन कसरी गर्ने त्यो सिकाइन्छ । त्यसपछिको १० दिनसम्म शरीरमा उत्पन्न हुने अनेक खालका ज्वारभाटाहरूको अनुभव लिने र कसरी त्यसलाई व्यवस्थापन गर्न सकिन्छ सिकाइन्छ । यसमा त गएर तप्न थालेपछि मात्र अनुभव थाहा पाउन सकिन्छ । बिहान साढे ४ बजेदेखि रातको ९ बजेसम्म खाली समयदेखि बाहेक ध्यान भावनाको अभ्यास मात्र गर्ने हो । गुरुजीको निर्देशनमा काम गर्दा ध्यानमा मन लगाउन सहज नै हुन्छ । यसरी काम गर्दा तरिका बुझेर मात्र गर्दा परिणाम पनि छिटो छरितो रूपले निस्किन्छ ।

प्रश्न : यसपालि नयाँ अनुभव के पाउनु भयो ?

जवाफ: अनुभव त हरेक पटक जाँदा अनुभव फरक फरक नै हुन्छन् । यो खासमा मनको स्वभावलाई अनुभव गरेर प्रतिक्रिया नगर्ने मनको विकास गर्ने साधना भएको हुँदा मनको अनुभव खुबै गरियो । अब त एक १० दिवसीयले मात्र पुग्दैन । दीर्घ शिविरमा बस्न पाए हुने थियो भन्ने भान भएको छ ।

प्रश्न : यो साधना वास्तवमा कसरी गरिन्छ रु केही भन्न मिल्छ ?

जवाफ : साधना गर्ने तरिकामा फरक नआओस् भन्नको लागि आचार्य सहायक आचार्यहरूलाई प्रतिनिधिको रूपमा नियुक्त गरिएको हुन्छ । वहाँहरूलाई यसको टेक्नालिटीमा कुरा गर्ने अधिकार हुन्छ । जसले पायो त्यसले यस विधि सिकाउन त के अभ्यास गराउन पनि पाइँदैन । आधिकारिक व्यक्तिहरूलाई हामीले एप्रोच गरेर केही साथीभाइ जम्मा भएर काम गर्न गराउन सकिन्छ । भने अनुसार फल प्राप्त गर्नको लागि त पहिलो १० दीवसीय शिविर ध्यान केन्द्रमै गएर ध्यान ध्यान गर्नु पर्छ । यसै चिया गफमा कुरा गर्दा त बुद्धि विलासको कुरा मात्र हुन जान्छ । त्यसैले हामी सामान्य साधकले यति महत्वको जीवन मरणको दुष्चक्रबाटै छुटकारा दिलाउने विद्या सिकाउन मिल्दैन ।

प्रश्न : के यस ध्यान साधनाबाट परिवर्तन सम्भव छ ?

जवाफ : अवश्य सम्भव छ । मनको स्वभाव प्रतिक्रिया गर्ने हुन्छ । प्रतिक्रिया गर्ने मनले कहिले पनि क्रियाको प्रतिक्रिया गर्छ । जसो हामी अदालतमा जान्छौ । बहस पैरवी गर्छौँ । यसको सिलसिलामा वादविवाद हुन्छ । पछि झगडा पर्छ । कुटाकुट नै हुन्छ । ध्यानमा बसेपछि भने यस्तो स्वभाव बिस्तारै कम हुँदै जान्छ । जसले गर्दा कसैप्रतिको वैरभाव पनि कम हुँदै गएर सेवा भाव बढ्छ भने अरूको कल्याणमा आफू सहायक हुने खालको स्वभावको विकास हुने भएकोले अरूलाई दुख दिने स्वभाव आफै नाश हुने हुँदा आफ्नो मनको परिवर्तन अवश्य सम्भव छ । देशको परिवर्तन पनि यसैबाट सुरु हुने न हो ।

प्रश्न : तपाई कानून व्यवसायी तर तपाईँको सामाजिक सञ्जाल हेर्दा निकै कडा कडा स्ट्याटस लेखिएको पाइन्छ भने तपाई आफैले बोल्दा पनि कडै बोल्नु भएको हुन्छ । सर्वसाधारणले बुझ्दा त तपाई ध्यान गर्नु हुन्छ भन्दा पत्याउँदैन होला नि । के हो ?

जवाफ : मेरो लेखाईको प्रकृति त्यस्तो कसै कसैलाई लाग्न सक्छ । तर मनको स्वभाव त्यस्तो छैन । मेरो नजिकका मित्रहरूसँग कहिले मौका मिले कुरा गर्नु होला । सार्वजनिक पद धारण गरेको व्यक्तिले जनतालाई दुख दिएको देख्न सक्दैन । गलत कुरालाई चुप लागेर नबस्नु भन्ने गुरु निर्देशन पनि छ । यस साधनाबाट मनको बल दृढ भएर साहसी पनि बन्न सकिन्छ । साधनाको प्रभाव पनि होला । तर मानसिक रूपमा त्यस्तो कडा स्वभावको छैन । कहिलेकाहीँ मनमा विकार रहितको कठोरता पनि आवश्यकता पर्छ । जसले छिटो परिवर्तनको काम पनि गर्छ । मेरो लेखाईले परिवर्तन भएका उदाहरण पनि छन् होला नि होइन र रु म कडा रूपमा प्रस्तुत भए पनि मेरो मनको स्वभाव त्यस्तो छैन । म सहयोगी नै छु जस्तो लाग्छ । लेख्ने बोल्ने पेसा भएपछि गलत कुरा सर्वसाधारणको लागि विना स्वार्थ बोलेर सत्य उजागर गरिदिनु पर्छ जस्तो लाग्छ ।

प्रश्न : अन्तमा केही भन्न चाहनु हुन्छ ?

जवाफ : मेरो त्यस्तो विशेष भन्नु पर्ने त केही छैन । तर पनि आफ्नो यो जीवन र यसपछिको जीवन पनि सुधार गर्न चाहनु हुन्छ भने एक चोटि १० दीवसीय विपश्यना ध्यानमा जानुस् । तपाई जे जस्तो अभ्यास गरे पनि सही गरिरहनु भएको छ वा छैन भन्ने थाहा पाउन पनि जानुस् । तपाईँलाई कुनै पनि सम्प्रदायमा बाँध्नको लागि यो गरिएको छैन । हिन्दुबाट मुस्लिम वा बौद्ध बनाउने प्रक्रिया होइन । वास्तविक रूपमा यो मनको स्वभाव कसरी कता भाग्छ र के कारणले दुख हुन्छ भन्ने थाहा पाउन पनि जानुहोस् भन्छु । वर्तमान अवस्थामा आत्महत्या लागू औषध दुर्व्यसनका घटना बढिरहेका छन् । पारिवारिक शान्तिमा खलल पुगेको छ । कुनै पनि गलत निर्णय लिनु भन्दा पहिला एक १० दीवसीय ध्यान गर्नोस् । सकेसम्म यो जीवनलाई सार्थक बनाउने कोसिस गर्नु होस् । मेरो कल्याण भएको छ तपाईँहरू जो जो जान चाहनु हुन्छ सबैको भलो हुनेछ । एकचोटी चाखेर हेर्नोस् । गफै गरेर त पूरा जीवन व्यतीत भयो । एकचोटी गई हेरौँ । निःशुल्क रूपमा कुनै जीवन जिउने कला सिक्न पाइन्छ भने किन नजाने । जाऊँ । लाभ लिऊँ । मङ्गल होस् भन्न चाहन्छु ।

 

सम्बन्धित समाचार

ताजा न्यूज