काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले अंश चलनसम्बन्धी महत्वपूर्ण व्याख्या गर्दै सौतेनी आमाले आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराछोरीलाई पनि समान अंशको अधिकार हुने ठहर गरेको छ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले अंशबन्डासम्बन्धी मुद्दामा ‘आमा’ शब्दले सौतेनी आमासमेतलाई र ‘छोरा’ शब्दले सौतेनी छोरालाई समेत समेट्छ भन्ने स्पष्ट व्याख्या गरेको हो।
फैसलामा भनिएको छ, “कानुनले अंशबन्डाको प्रयोजनका लागि आमा र छोराछोरीलाई, सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा बुझ्नुपर्ने देखिन्छ।” अदालतले यसअघि बनेका नजिर उद्धृत गर्दै बाबु–आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्तिलाई छोराछोरीको हकमा पैतृकसरह मानिने प्रष्ट पारेको छ।
यस प्रकरणमा नवराज पराजुलीकी जेठी पत्नी तुलसा बस्नेत र छोरा राहुल पराजुलीले कानुनी हक माग्दै मुद्दा दायर गरेका थिए। नवराजले राहुललाई आफ्नो जैविक छोरा नभएको दाबी गर्दै डीएनए परीक्षणको माग गरे पनि सर्वोच्चले अन्य प्रमाणहरूलाई पर्याप्त मानेको छ। अदालतले भनेको छ, “जैविक नाता पुष्टि गर्ने डीएनए परीक्षण महत्त्वपूर्ण भए पनि अनिवार्य र अन्तिम प्रमाणको रूपमा लिन मिल्दैन।”
अदालतले प्रस्तुत प्रमाण र साक्षीका आधारमा राहुल नवराजको छोरा भएको पुष्टि गर्दै नवराजकी जेठी पत्नी तुलसा, कान्छी पत्नी शशि पराजुली, तुलसाबाट जन्मिएका राहुल र शशिबाट जन्मिएका तीन छोराछोरीबीच सम्पत्तिको ७ भागमा २ भाग अंशबन्डा हुने फैसला गरेको हो।
त्यसैगरी, अदालतले शशि पराजुलीले आमाबाट बकसस्वरूप प्राप्त गरेको जग्गालाई पनि पैतृक सम्पत्तिसरह मानिने स्पष्ट व्याख्या गरेको छ। “बाबु–आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति छोराछोरी र श्रीमतीका लागि पैतृक मानिन्छ र बन्डा लाग्छ,” पूर्णपाठमा भनिएको छ।
२०८१ चैत २१ मा सुनाइएको यो फैसलाको पूर्णपाठ २०८२ भदौ ५ गते सार्वजनिक गरिएको हो।