काठमाडौं । काठमाडौं जिल्ला अदालतले २०८२ भदौ २४ गतेको आगलागीबाट क्षतिग्रस्त मुख्य भवनका केही तल्लाहरू मर्मत गरी आज देखि नियमित इजलास सञ्चालनमा ल्याएको छ। शहरी विकास तथा भवन निर्माण कार्यालयको प्राविधिक प्रतिवेदनले मुख्य भवनको तेस्रो, चौथो र पाँचौँ तल्ला सुरक्षित रहेको ठहर गरेसँगै अदालत प्रशासनले ती तल्लाहरूमा इजलास स्थानान्तरण गरेको हो।
हाल अदालतले मुख्य भवनसहित चारवटा फरक-फरक ब्लकहरूबाट सेवा प्रवाह गरिरहेको छ, जसअन्तर्गत मुख्य भवनमा ७ वटा, दोस्रो भवनमा १० वटा र तेस्रो तथा चौथो भवनमा ९ वटा इजलासहरू कायम गरिएका छन्।
भवनको भौतिक अवस्था र सुरक्षालाई मध्यनजर गर्दै मुख्य भवनमा प्रवेशका लागि अनिवार्य प्रवेश पासको व्यवस्था गरिएको छ। यसका साथै म्याद थप र विवाह दर्ता जस्ता विशेष प्रकृतिका मुद्दाहरूको सुनुवाइका लागि चौथो भवनको परिसरमा टेन्ट र तेस्रो भवनको सभाहललाई ‘डेडिकेटेड इजलास’का रूपमा प्रयोग गरिएको अदालतले जनाएको छ। सेवाग्राहीको सहजताका लागि कुन कोठामा कुन इजलास रहेको छ भन्ने जानकारी फेसबुक पेजमा उपलब्ध क्यूआर कोड (QR Code) मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

