रवि लामिछानेको मुद्दामा माघ २ को संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको मुद्दामा महान्यायाधिवक्ता कार्यालयबाट भएको पछिल्लो संशोधित निर्णयको सक्कल फाइल पेस गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गत माघ २ गते भएको निर्णयसहितको कागजात माग गरेको हो ।

यसअघि महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । तर, त्यसको दुई दिनपछि माघ २ गते उक्त निर्णय परिमार्जन गर्दै लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन हुने गरी अर्को निर्णय भएको थियो । अदालतमा पुस ३० गतेको निर्णय मात्र उपलब्ध भएपछि इजलासले माघ २ गतेको संशोधित निर्णय समेत झिकाउन आदेश दिएको हो ।

यसैबीच, यो मुद्दाको सुनुवाइ प्रक्रियामा समेत फेरबदल हुने देखिएको छ । इजलासले लामिछानेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशहरूबाहेकको अर्को इजलासमा मुद्दा पेस गर्न समेत निर्देशन दिएको छ । सर्वोच्चको यो आदेशसँगै प्रमाण संकलन र इजलास गठनको प्रक्रियाका कारण रविसम्बन्धी मुद्दाको किनारा लाग्न अझै केही समय थपिने निश्चित भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज