धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको गम्भीर आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। कैलालीको वन निर्देशनालयमा कार्यरत भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै नियन्त्रणमा लिएको हो।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको दाबी गरेका थिए।
भट्टले सार्वजनिक रूपमा मुख्यमन्त्रीको बदनाम गरेको भन्दै उद्योग मन्त्रालयले उनीसँग स्पष्टीकरण सोधेको थियो। सोही स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर विद्युतीय अपराध अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

