काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार बहस नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर आजका लागि पेसी तोकेको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो निवेदनलाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दाहरू फिर्ता लिने निर्णय गरेकी थिइन्।
सरकारको उक्त निर्णय कानुनी रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराध जस्ता गम्भीर अभियोगहरूमा छानबिन भइरहेको अवस्थामा सरकारले मुद्दा फिर्ता लिनु न्यायसंगत नभएको निवेदकहरूको जिकिर छ। आजको सुनुवाइपछि सर्वोच्चले दिने आदेशलाई राजनीतिक र कानुनी वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

