काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजी सम्बन्धी विवादमा सर्वोच्च अदालतले नयाँ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा परेको उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि अब यसको छिनोफानो आगामी आइतबार हुने भएको छ।
न्यायाधीश सुवेदीले यसअघि फागुन २८ गते नै किशोरी साहकै अर्को रिटमा अन्तरिम आदेश जारी गरिसकेको र दुवै निवेदन एक-अर्कासँग अन्तरसम्बन्धित रहेको कारण आफू सम्मिलित इजलासबाट यसको सुनुवाइ हुन नसक्ने स्पष्ट पार्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश सुवेदीले स्वार्थ बाझिने देखिएकाले म रहितको इजलासबाट सुनुवाइ हुने गरी चैत १ गतेका लागि पेसी तोक्न आदेश दिनुभएको छ।
बैंक तथा वित्तीय संस्थाको ऋण तिर्ने दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले साहको नाम कालोसूचीमा राखेपछि निर्वाचन आयोगले फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो। साहको ‘कमल निर्माण सेवा प्रालि’ २०८० माघदेखि कालोसूचीमा रहेको देखिए पनि साहले भने आफू कालोसूचीमा नरहेको दाबी गर्दै सर्वोच्चमा दुईवटा रिट दायर गरेका थिए।
यसअघि फागुन २७ मा दायर गरिएको कालोसूची विरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुवेदीकै इजलासले कर्जा सूचना केन्द्रको पत्रअनुसार साह हाल कालोसूचीमा नदेखिएको भन्दै उनलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ। सोही आधारमा अब आइतबार बस्ने अर्को इजलासले उनको उम्मेदवारी कायम हुने वा नहुने भन्ने विषयमा अन्तिम निर्क्यौल गर्नेछ।
यसैबीच निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई निर्वाचित घोषित गरिसकेको छ। अदालतको आगामी आदेशले आयोगको उक्त निर्णय र साहको उम्मेदवारीको कानुनी हैसियतमाथि ठूलो प्रभाव पार्ने देखिएको छ।

