उम्मेदवारी रद्दको निर्णयविरुद्ध रेशम चौधरी सर्वोच्च अदालतमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी निर्वाचन अधिकृतले गैरकानुनी रूपमा रद्द गरेको दाबी गर्दै चौधरीले सो निर्णय बदर गर्न माग गरेका हुन्। रिटमा उनले उम्मेदवारी यथावत् कायम गरी निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनुपर्ने मागसहित अन्तरिम आदेशको पनि आग्रह गरेका छन्।

सर्वोच्च अदालतका अनुसार चौधरीको निवेदन शुक्रबार दर्ता भएको छ र यसमाथि आइतबार प्रारम्भिक सुनुवाइ तोकिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले जन्मकैदको सजाय पाएको र पछि राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदसम्बन्धी अभिलेख कायम रहने भन्दै चौधरीको उम्मेदवारी अस्वीकृत गरेको थियो।

उक्त निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याएका चौधरीले आफूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गर्नु कानुनविपरीत भएको जिकिर गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज