काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगको कार्यकाल सरकारको निर्णयअनुसार थप गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको म्याद थप २० दिन बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगलाई तोकिएको समयभित्र प्रतिवेदन तयार गर्न नसकिएपछि म्याद थप गरिएको जानकारी दिए ।
यो आयोगको कार्यकाल दोस्रोपटक विस्तार गरिएको हो । यसअघि पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगको अवधि एक महिनाले बढाएको थियो । सुरुमा आयोगलाई तीन महिनाको समयसीमा तोकिएको थियो ।
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग, मृत्यु र अन्य घटनाको यथार्थ तथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । ती घटनाको कारण, जिम्मेवार पक्ष र राज्यको भूमिकाबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी आयोगलाई दिइएको छ ।

