पोखरा । मेडिकल व्यवसायी तथा विभिन्न राजनीतिक–सामाजिक अभियानका अगुवा दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। निर्वाचन आयोगविरुद्ध गम्भीर आरोप लगाएको, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजनामा रकम लगानी गरेको आरोपसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो।
निर्वाचन आयोगको पत्राचारका आधारमा कास्की प्रहरीले सोमबार पोखरामा कार्यक्रमका लागि आएका प्रसाईंलाई नियन्त्रणमा लिएको हो। कास्की प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सोही विषयमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको र सरकारी डाटा चोरी गर्ने योजनासम्बन्धी अडियोसमेत सार्वजनिक भएपछि आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईं पछिल्लो समय निर्वाचन बहिष्कार, राजसंस्था पुनर्स्थापनालगायत विषयमा आन्दोलन र कार्यक्रम गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न घटनामा पक्राउ परेर छुट्दै आएका छन्।
सरकारसँग माघ २ गते भएको १२ बुँदे सम्झौताअनुसार आन्दोलनका क्रममा लागेका केही मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने तथा संवैधानिक–कानुनी सुधारका विषयमा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको थियो। यद्यपि पछिल्ला अभिव्यक्ति र सार्वजनिक अडियोका कारण उनी पुनः प्रहरी हिरासतमा पुगेका हुन्।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित थप अनुसन्धान जारी छ।

