काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै यसको पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।
देउवा पक्षका तर्फबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। उनीहरूले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै आजै पेसी तोकेर सुनुवाइ गर्न आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्थाका कारण तत्काल सुनुवाइ सम्भव नभएको जानकारी दिएको थियो।
सोही माघ ६ गते नै आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुने कार्यतालिका छ। यस्तो अवस्थामा रिटको सुनुवाइ उम्मेदवार मनोनयनपछि मात्र हुने देखिएको छ।
देउवा पक्षले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएमा पार्टीको ठूलो हिस्सा कानुनी हैसियतविहीन हुने र निर्वाचन प्रक्रियाबाटै वञ्चित हुने जोखिम रहेको दाबी गर्दै तत्काल न्यायिक हस्तक्षेप आवश्यक रहेको जिकिर गरेका छन्।
अब सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्छ वा नगर्दछ भन्ने विषयले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी निर्वाचनको दिशालाई निर्णायक रूपमा प्रभाव पार्ने देखिएको छ। अन्तरिम आदेश जारी भएमा देउवा पक्षलाई राहत मिल्नेछ भने आदेश नआए विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पक्षलाई बल पुग्नेछ।

