काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो ।
उनी जेठ २० गते निलम्बनमा परेका थिए । निलम्बनविरुद्ध प्रशासकीय अधिकृत सरोज गुरागाई,कार्यवाहक प्रहरी बल प्रमुख बिष्णुजोशी लगायतलाई विपक्षी बनाएर पाण्डे उच्च अदालत गएका थिए । जेठ २६ गते उनले रिट दायर गरेकोमा उच्चले अन्तरिम आदेशमार्फत निलम्बन कार्यन्वयन नगर्नू भनेको थियो ।
६ महिनाका लागि निलम्बन परेका पाण्डेको रिट खारेजीसँगै उनी पुनः निलम्बन हुने देखिएको छ । उनको निलम्बनको ६ महिने अवधि मंसीर २० गतेसम्म छ । योसँगै उनकाे बालेनसँगको इगोसहित निलम्बन यथावत् भएको छ ।
मेयर बालेन शाहको आदेशमा राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाउन बल प्रयोग गरेका थिए । उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिले उनलाई गुरागाईलाई हाजिर गराउने क्रममा धकेलाधकेल भएको थियो ।
प्रशासकीय प्रमुख गुरागाईले कानूनले दिएको अधिकार प्रयोग गरेर शुरुमा स्पष्टिकरण लिएका थिए भने स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका थिए । सो निर्णयविरुद्ध पाण्डे उच्च अदालतमा गएर अन्तरिम आदेश ल्याएका थिए ।

