काठमाडौं । जेनजी आन्दोलनबाट २३ वटा अदालतमा क्षति पुगेको छ । २४ भदौको प्रदर्शनमा सर्वोच्च, विशेष, ३ उच्च, ४ उच्चका इजलास र १४ जिल्लासहित २३ अदालतमा क्षति पुगेको थियो । क्षतिलाई पूर्ण, आंशिक र सामान्य गरेर तीन वर्गमा छुट्याइएको छ । सर्वोच्च, काठमाडौं जिल्ला अदालतसहित १० वटामा पूर्ण, ९ वटामा आंशिक र ४ अदालतमा सामान्य क्षति भएको छ ।
पूर्ण क्षति भएका अदालतमा भवन, सवारीसाधन, कार्यालय सामग्री गरी २ अर्ब १२ करोड ८४ लाख बराबरको नोक्सानी भएको थियो । आंशिक क्षति भएका अदालतमा २४ करोड ६४ लाख र सामान्य क्षति भएका अदालतमा १४ करोड ५८ लाख बराबरको नोक्सानी भएको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चको तथ्यांकअनुसार देशभरका १४ अदालत पूर्ण रूपमा खण्डहर भएका छन् । सर्वोच्चसहित काठमाडौं जिल्ला अदालत, जिल्ला तथा उच्च अदालतका भवनहरू कामै नलाग्ने गरी क्षति भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेयले बताए । २४ भवनमा आंशिक क्षति भएको छ । ती भवनहरू ‘रेट्रोफिट’ वा केही मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा छन् । ३८ इजलास पूर्ण रूपमा ध्वस्त र ४७ वटा आंशिक रूपमा क्षति भएका थिए ।
प्रदर्शनमा ३ न्यायाधीश आवास पूर्ण र २ वटामा सामान्य क्षति भएको थियो । त्यस्तै, कर्मचारीका २ आवास पूर्ण रूपमा नष्ट भएको थियो भने ३ वटामा आंशिक क्षति पुगेको थियो । सुरक्षाकर्मी बस्ने ८ वटा भवन पूर्ण रूपमा नष्ट र ६ वटामा सामान्य क्षति भएको थियो । सेवाग्राही बस्ने ६ वटा प्रतीक्षालय पनि पूर्ण रूपमा नष्ट भएका थिए भने ५ वटामा आंशिक क्षति पुगेको थियो । सर्वोच्चसहित देशभरका अदालतका १ सय २९ चारपाङ्ग्रे, २ सय ९० दुईपाङ्ग्रे र ५१ साइकल पूर्ण रूपमा नष्ट भएका थिए । सर्वोच्च अदालतले सवारीसाधनमा मात्र ४० करोड १९ लाख बराबरको क्षति बेहोरेको थियो ।
सूचना प्रविधिका धेरै सामग्री जल्नुका साथै चोरी भएको पाइएको छ । सर्वोच्चको तथ्यांकअनुसार ल्यापटप, प्रिन्टर, डिस्प्ले टीभी चोरी भएका छन् । केही जिल्लामा सीसीटीभी र यूपीएस ब्याट्रीसमेत तोडफोड र चोरी भएको थियो । डेस्कटप कम्प्युटर १४ हजार ९२, ल्यापटप ६ सय ३५, प्रिन्टर ८ सय ५४, अभिलेख स्क्यानर २३, सानो स्क्यानर २३, भिडियो कन्फ्रेन्स सेट ८६, यूपीएस ब्याट्री १ हजार १ सय ११, नेटवर्किङ २३, इन्टरनेट ४२, नेटवर्क केवल ३ हजार १ सय १२, राउटर ८९ समेत अदालतले गुमाएको छ ।
सीसीटीभी ४ सय ४५, प्रोजेक्टर २९, डिस्प्ले टीभी १ सय ९५, सोलार प्यानल र ब्याट्री २ सय २८, फोटोकपी मेसिन ३८, जेनेरेटर ६, एसी ३ सय ३९, कुलर ३२, पंखा ७ सय ५, भ्याकुम क्लिनर ५८, फ्रिज ३४, ई–हाजिर मेसिन ८१ वटा अदालतले गुमाएको छ । देशभरका अदालतले ९ लाख ३३ हजार मुद्दाका मिसिल गुमाएका छन् ।
२४ भदौको प्रदर्शनमा सबैभन्दा धेरै क्षति सर्वोच्च र काठमाडौं जिल्ला अदालतमा पुगेको छ । सर्वोच्चको मूल भवन नै जलेपछि पालबाट सेवा थालिएको छ । साथै, सुरक्षाकर्मी भवन, सूचना कक्ष, छापाखाना भवन र प्रतीक्षालयलगायत पूर्ण नष्ट भएका थिए । मूल भवनमा रहेका सम्पूर्ण इजलास तथा च्याम्बरसमेत प्रयोग गर्न नसकिने गरी क्षति भयो ।
चारपाङ्ग्रे सवारीसाधनतर्फ न्यायाधीशको १३, अदालत प्रयोजनको ३० वटा, दुईपाङ्ग्रे सवारीसाधनतर्फ अदालतको ६६ वटा मोटरसाइकल र ३६ वटा स्कुटर तथा ४ निजी मोटरसाइकलसमेत पूर्ण रूपमा क्षति भएको थियो । साथै चालु मिसिल करिब २ लाख र अभिलेख मिसिल करिब १ लाख ९७ हजार जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।
सर्वोच्चमा १ अर्ब २१ करोड २१ लाख बराबरको क्षति भएको थियो । भवन, सवारीसाधन र अन्य सामग्री पुनः खरिद गर्न सकिने भए पनि लाखौं मिसिल अदालतले गुमाएको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बताए । सर्वोच्च, काठमाडौं जिल्ला अदालत र अन्य अदालतमा रहेका ऐतिहासिक मिसिल, प्रमाण र दस्ताबेज गुमाएको उनले जानकारी दिए । यद्यपि सर्वोच्चसहित देशैभरका अदालतबाट न्याय सम्पादन सुरु गरिसकेको उनले बताए ।
२४ भदौमा तोडफोड र आगजनीले क्षतिग्रस्त भएको अदालतको सर्भर ४९ दिनपछि ‘रिकभर’ भएको छ । प्रदर्शनकारीले सर्वोच्च अदालत र हेटौंडामा रहेको डेटा सेन्टरमा आगलागी र तोडफोड गरेका थिए । सर्वोच्चको मुख्य भवनको तेस्रो तलामा रहेको डेटा सेन्टरमा आगलागी हुँदा सम्पूर्ण सिस्टम जलेको थियो । हेटौंडाको डेटा सेन्टरमा सामान्य क्षति भएको थियो ।
सर्वोच्चका प्रवक्ता कोइरालाका अनुसार मंगलबारदेखि मुद्दाका सबै डिजिटल जानकारी अदालतले दिन सक्नेछन् । ‘अब सबै अदालतको डिजिटल सिस्टम रिकभरी भएको छ । डिजिटल इन्ट्री भएका सबै विवरण सुरक्षित पाइएको छ,’ उनले भने ।
महान्यायाधिवक्ता कार्यालयले पनि २४ भदौको घटनामा जाहेरी दिएको छ । नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले क्षति विवरण र कार्यालयसँग भएका प्रमाणसहित जाहेरी दिएको बताए । उनले मातहतका सबै सरकारी वकिल कार्यालयलाई जाहेरी दिन भनिएको जानकारी दिए । उक्त दिनको घटना किन र के उद्देश्यले गरियो र लुटपाट भएका सामान फिर्ता ल्याउनका लागि पनि जाहेरी आवश्यक देखिएकाले दिइएको रेग्मीले बताए ।

