काठमाडौं । जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये अधिकांश आपराधिक पृष्ठभूमिका रहेकाे पाइएको छ । जेन–जी आन्दोलनका क्रममा भएका हत्या, लुटपाट र आगजनीपछि पक्राउ पर्नेमाथि उल्लेखित चारै व्यक्ति फरक–फरक पृष्ठभूमिबाट आएका हुन् ।
उनीहरूका पारिवार, जन्मेको ठाउँ र उमेर पनि फरक छ । तर, उनीहरूमा एउटा पक्ष भने समान छ । त्यो हो, आपराधिक पृष्ठभूमि । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २४ भदौयता आगजनी, लुटपाट, तोडफोड र हत्या अनुसन्धानका क्रममा काठमाडौंमा मात्रै प्रत्येक दिन कम्तीमा १५० जनामाथि सोधपुछ चल्छ । त्यसमध्ये तीनदेखि पाँचजना पक्राउ पर्छन् । उनीहरूमध्ये ८० प्रतिशतको पृष्ठभूमि आपराधिक देखिएको छ ।
यस्ता छन आपराधिक पृष्ठभूमी जोडिएकाहरु
असोजको अन्तिम साता सरकारी अड्डामा अर्जुन शाहीको आतंक छायो । उनी युट्युबरसँगै विनाअनुमति सरकारी अड्डा छिर्थे । ‘जेन–जी प्रतिनिधि हुँ’ भन्दै कर्मचारीको हुर्मत लिन्थे । हाकिमे शैलीमा कर्मचारीलाई तथानाम निर्देशन दिन्थे । आतंकित कर्मचारी भने प्रतिक्रियाविहीन हुन्थे ।
एक सातासम्म चलेको उनका बेलगाम हर्कतमा तागतको स्रोत थियो, जेन–जी आन्दोलनपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथलगत्तै खिचेको भाइरल फोटो । जहाँ ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङ र प्रधानमन्त्री कार्कीसँग शाही हात उठाएको पोजमा देखिन्छन् । सोही फोटो देखाउँदै शाही सरकारी अड्डामा विनारोकतोक प्रवेश गर्थे ।
र, युट्युबमा लाइभ राखेर हाकिमलाई थर्काउँथे । हाकिम थर्काएर रातारात चर्चामा आएपछि शाहीको विगत खोजी हुन थाल्यो । यही क्रममा उनीविरुद्ध प्रहरीमा मात्रै चेक बाउन्स र ठगीका आठ मुद्दा दर्ता भएको खुल्यो । जसमध्ये चार मुद्दा त प्रहरी वृत्त स्वयम्भूमै परेको रहेछ । अझ रोचक कुरा उनकै नेतृत्वमा २४ भदौमा स्वयम्भु वृत्तमा आगजनी भएको रहेछ । प्रहरीका अनुसार स्वयम्भू वृत्त मात्रै होइन, उनको समूह त्यसबाहेकका सार्वजनिक संरचना आगजनी गर्नमा पनि सहभागी भएको देखिएको छ ।
जेन–जी आन्दोलनका क्रममा सिंहदरबारको पश्चिम गेटअगाडि सम्राट भनिने राजु परियार एसएलआर हतियारसहित अर्धनग्न अवस्था देखिए । सो हतियार प्रहरीबाट लुटिएको थियो । २४ भदौ दिनभरजसो उनले विभिन्न पोजिसनमा हतियारसहितको फोटो खिचे । र, बेलुका सँगै लिएर गए । हतियार खोजी गर्ने क्रममा प्रहरीले ३६ वर्षीय परियारलाई ललितपुर महानगरपालिका– १३ कुसुन्तीबाट पक्राउ गर्यो ।
अनुसन्धानपछि खुल्यो– उनीविरुद्ध प्रहरी कार्यालयमा त्यसअघि नै ठगी, बैंकिङ कसुर, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारजस्ता आठवटा मुद्दा दर्ता भएका रहेछन् । सबैमा उनी फरार रहेछन् । प्रहरीका अनुसार उनले लुटेका हतियार अझै बरामद हुन सकेका छैनन् ।
आन्दोलनकै दिन २४ भदौमा दोलखा शैलुङ गाउँपालिका– १ का ४८ वर्षीय गौतम घिसिङ नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा आगजनीमा मात्रै सरिक भएनन्, बर्दी उतार्न लगाएर प्रहरीलाई नांगै बनाए । प्रहरीको हतियार लुटे । र, लाइनमा राखेर हात उठाउँदै सबैलाई सडकमा मार्च गर्न लगाए । हतियारसहित पोजिसन लिएको भइरल फोटोका आधारमा प्रहरीले उनलाई पक्राउ गर्यो ।
अनुसन्धानमा क्रममा खुल्यो– उनीविरुद्ध बैंकिङ कसुरका दुईवटा मुद्दा प्रहरी वृत्त गौशालामा दर्ता भएका रहेछन् । जसमध्ये एउटा ४ असोज ०७९ र अर्को १० फागुन ०७९ मा दर्ता भएको थियो । राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी पूर्वमाओवादी लडाकु हुन् । उनको दल निर्वाचन आयोगमा समेत दर्ता भएको छ । जसको अध्यक्ष रुद्रजंग पुलामी हुन् ।
२३ भदौको जेन–जी प्रदर्शन भड्काउन टिओबी ९टिब्बटेन ओरिजिनल ब्लड०का प्रमुख दावा तेन्जिङ समूहको मुख्य भूमिका थियो । अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गर्यो । यस क्रममा उनी पनि सरकारी छाप किर्तेमा संलग्न रहेको खुलेको छ । प्रहरीका अनुसार उनले किर्ते कागजातका आधारमा नेपाली नागरिकता लिएको खुलेको छ । जसको अनुसन्धान प्रहरीले अहिले गरिरहेको छ ।
आन्दोलनकै क्रममा गत २४ भदौको अपराह्न महाराजगन्ज वृत्तमा कार्यरत असइ मिलन राय र प्रहरी जवान उत्तम थापामाथि सांघातिक हमला भयो । हमलामा उत्रिएको थियो– २८ वर्षीय युवराज क्याप्छाकी, २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल तामाङ, ६२ वर्षीय होमप्रसाद पौडेल, २८ वर्षीय टीकाराम विकलगायतका समूह ।
उनीहरूको समूहले असइ राय र जवान थापालाई कुटीकुटी हत्या मात्रै गरेन, प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्यो । हत्यामा संलग्नमध्ये प्रहरीले पौडेल, विक, तामाङ र क्याप्छाकीलाई पक्राउ गर्यो । अनुसन्धानका क्रममा खुल्यो– माओवादी द्वन्द्वकालमा उनको माओवादी लडाकु भन्दै प्रहरीले आँखा फुटाइदिएको रहेछ । सिन्धुपाल्चोक त्रिपुरासन्दरी गाउँपालिका– ४ का उनी सोही घटनाको बदला लिन प्रहरीविरुद्ध आक्रामक भएका रहेछन् ।
२३ र २४ भदौमा भएका विध्वंशमध्ये हत्या, लुटपाट, आगजनी र तोडफोडलाई प्रहरीले अनुसन्धानको अग्रस्थानमा राखेको छ । अहिले प्रहरीको हत्या र उसका संरचनामाथि भएका आगजनी, तोडफोड र हतियार लुटपाटका घटनामाथि अनुसन्धान जारी छ । निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएका आगजनी, तोडफोड, लुटपाटमा भने प्रहरीले अनुसन्धान अघि बढाएको छैन । तर, मुचुल्का विवरण र आवश्यक सूचना भने संकलन गरेर राखेको छ । काठमाडौं परिसरका प्रवक्ता भट्टराईले भने, ‘अहिले गर्नैपर्ने विषयवस्तुको मात्रै अनुसन्धान भएका छन् । बाँकी विषयवस्तुको मुचुल्का संकलन भएका छन् । अनुसन्धानका लागि आवश्यक सूचना संकलन गरिएका छन् । त्यसमा पनि अब अनुसन्धान हुन्छ ।’

