आगलागीमा सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार मुद्दाका मिसिल जलेर नष्ट

काठमाडौं । जेन–जी आन्दोलनपछि भदौ २४ गते देशभर फैलिएको आगजनीले न्यायालयहरूमा विनाशकारी असर पारेको छ। विशेषगरी सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीका कारण जलेर नष्ट भएका छन्।

सर्वोच्च अदालतका अनुसार आगलागी भएको दिन अदालतमा २४ हजार २ सय ३४ वटा मिसिल कार्यान्वयनमा थिए। तीमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण रूपमा जलेर नष्ट भए भने ४ हजार २ सय मिसिल भने जोगाइएका छन्। जोगिएका मिसिलमध्ये २ हजार ५ सय ९ वटा रिटका र १ हजार ६ सय ९१ वटा मुद्दाका मिसिल रहेका छन्। साथै अभिलेख कक्षमा रहेका १ लाख ९७ हजार मिसिल पनि ध्वस्त भएका छन्।

भदौ २३ गते काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएपछि त्यसको भोलिपल्ट देशभर प्रदर्शन हिंसात्मक बनेको थियो। आगजनी र तोडफोडको ती घटनामा अदालतहरू समेत निशानामा परे।

सर्वोच्च अदालत मात्र होइन, उच्च अदालत र जिल्ला अदालतहरूमा पनि आगलागीले ठूलो क्षति पुर्‍याएको छ। देशभरका अदालतमा चलिरहेका ६ हजार ५ सय ३३ मुद्दाका मिसिल र अभिलेखमा रहेका ७ लाख ६ हजार ७१ फाइल नष्ट भएका छन्। साथै तहसिल कार्यालयका ४ हजार १ सय ८५ मिसिल पनि जलेका छन्।

आगजनीमा देशभरका अदालतका भौतिक संरचना र उपकरणहरूमा पनि व्यापक क्षति पुगेको छ। कुल ४ सय २२ सवारीसाधन पूर्ण रूपमा जलेका छन्, जसमध्ये सर्वोच्च अदालतका ४३ वटा चारपांग्रे गाडी छन्। साथै, अदालतहरूमा रहेका १ हजार ४ सय ९२ कम्प्युटर, ६ सय ३५ ल्यापटप र ४ सय ४५ सीसी क्यामरा पनि नष्ट भएका छन्।

आफ्नो मूल भवन र अभिलेख जलेर नष्ट भएपछि सर्वोच्च अदालत हाल टेन्ट टाँगेर अस्थायी रूपमा सञ्चालनमा आएको छ। मंगलबारदेखि नयाँ मुद्दा र रिट दर्ता सुरु गरिएको छ तर पेसी र तारेखको काम अझै पुनःस्थापित भएको छैन।

अदालतका कर्मचारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आवश्यक सामग्री र सहयोगको माग गरेका छन्। उता, काठमाडौं जिल्ला अदालतसहित देशभरका अदालतहरू कार्यालय भवन र कागजात पुनःव्यवस्थापनमा व्यस्त छन्।

सम्बन्धित समाचार

ताजा न्यूज