बबरमहलस्थित उड्डयन प्राधिकरणको भवन अस्थायी रूपमा काठमाडौँ जिल्ला अदालतलाई उपलब्ध गराइने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई अस्थायी रूपमा प्रयोगका लागि उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीका अनुसार सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले अदालतसँग आपसी सहमति गरी उक्त भवन प्रयोग गर्न दिने निर्णय गरेको हो। सो निर्णयमा समितिका अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीले हस्ताक्षर गरिसकेकी छन्। यससँगै अदालत र प्राधिकरणबीच आवश्यक वार्ता तथा सम्झौता प्रक्रिया अघि बढ्ने बाटो खुलेको अधिकारीले बताए।

निर्णयमा उल्लेख भएअनुसार, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा भएको क्षतिका कारण अदालतको नियमित काम कारबाहीमा अवरोध पुगेको थियो। सर्वोच्च अदालत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेवा सञ्चालनमा सहजता ल्याउन प्राधिकरणलाई भवन उपलब्ध गराउन अनुरोध गरेपछि यो निर्णय गरिएको हो।

अब अर्को व्यवस्था नहुँदासम्म बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वपट्टिको ब्लक ‘बी’ अदालतलाई सेवा सञ्चालनका लागि प्रयोग गर्न दिने तयारी गरिएको छ। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालत र नेपाल नागरिक उड्डयन प्राधिकरण दुवैको भवन क्षतिग्रस्त भएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज