काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका दमनका घटनामा संलग्न उच्च अधिकारीमाथि फौजदारी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता भएको छ।
सिन्धुपाल्चोकका नागरिक युवराज पौडेलले दायर गरेको उक्त रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, त्यतिबेलाका प्रहरी महानिरीक्षक (आईजीपी) र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई दमनका लागि जिम्मेवार ठहर गर्दै उनीहरूमाथि फौजदारी अनुसन्धान गर्न माग गरिएको छ।
रिट निवेदनमा राष्ट्रपतिद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय पनि असंवैधानिक भएको दाबी गर्दै सो निर्णय बदर गर्न माग गरिएको छ। पौडेलले भनेका छन्, “यदि नेपाल सरकार वा कुनै मन्त्रालयबाट दमनका कार्यमा अवरोध सिर्जना गर्ने गरी कुनै निर्णय भएको भए, त्यसलाई सार्वजनिक गरी बदर गरियोस्।”
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको बल प्रयोग र पक्राउका घटनाले ठूलो विवाद उत्पन्न गरेको थियो। यसअघि पनि आन्दोलनमा संलग्न युवाहरूले सत्यअनुसन्धान र जिम्मेवारमाथि कानुनी कारबाहीको माग गर्दै विभिन्न निकायमा उजुरी दिएका छन्।
सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ कहिले गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन।