रवि लामिछाने भन्छन्ः फेरि कारागार जाँदैछु,अब अन्याय हुँदैन भन्ने आशा छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेले आफ्नो जन्मदिनको अवसरमा विशेष वक्तव्य जारी गर्दै फेरि कारागार जान तयार रहेको घोषणा गर्नुभएको छ। अघिल्लो सरकारले चरम राजनीतिक प्रतिशोधका आधारमा आफूमाथि मुद्दा थोपरेको दाबी गर्दै नयाँ नेतृत्वप्रति भने न्यायको आशा व्यक्त गर्नुभएको छ। “संयोगले आज मेरो जन्मदिन परेको छ। म आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउँदैछु,” वक्तव्यमा लामिछानेले उल्लेख गर्नुभएको छ।

लामिछानेले जिल्लैपिच्छे मुद्दा दायर गर्नुपर्ने थियो कि थिएन, सहकारीसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता आरोपमा मुद्दा हाल्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न नयाँ सरकारको विवेकमा छोड्ने बताएका छन्। हालै जेलमुक्तिको क्रममा प्रयोग गरिएको चिठीको वैधानिकता बारे उठेका प्रश्नप्रति संवेदनशीलता देखाउँदै उनले त्यस्तो चिठीका कारण कुनै कर्मचारी वा सचिवलाई अप्ठ्यारोमा पार्न नचाहेको स्पष्ट पारेका छन्। “मलाई भिडले बाहिर निकाल्दा प्रशासनले मलाई होइन, जेललाई जोगाएको थियो,” उनले भनेका छन्।

देशभर हालै भएका आन्दोलन र हिंसाबारे लामिछानेले गम्भीर प्रश्न उठाएका छन्। उनले पहिलो दिनको दमन र दोस्रो दिनको हिंसाबीच दुवैको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। “करिला बच्चाहरूको टाउकोमा ताकी–ताकी गोली हान्ने गृह मन्त्री, प्रधानमन्त्री तत्काल कारबाहीको दायरामा आउनुपर्छ। देशका संरचना जलाउनेहरू पनि कारबाही हुनुपर्छ,” उनले भनेका छन्।

लामिछानेले २०४६ सालपछिका सम्पूर्ण नीतिगत निर्णय र उच्च पदस्थको सम्पत्तिको छानबिन गर्नुपर्ने, सबै निकायमा भएका राजनीतिक नियुक्ति तत्काल खारेज गर्नुपर्ने, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो खोल्नु पर्ने, विश्वविद्यालयमा भएका राजनीतिक नियुक्ति खारेज गरी मेरिटोक्रेसी लागू गर्नुपर्ने र राजदूत नियुक्तिमा पनि यही प्रणाली लागू गर्नुपर्ने माग अघि सारेका छन्।

पुराना दलहरूप्रति उनले प्रतिशोध होइन, स्वस्थ प्रतिस्पर्धाबाट हराउनुपर्नेमा जोड दिएका छन्। “इतिहासका विभिन्न चरणमा पुराना दलहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोध त्याग्नुपर्छ,” उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा आफूमाथि भइरहेको आलोचना र दुष्प्रचारबारे दुःख प्रकट गर्दै उनले भनेका छन्, “हे पुराना दलका सेनामेना साथी हो, आफ्नो विरासतको पतनको मलामी जान छोडेर किन मेरो विरोधको पार्टी गर्दैछौ?”

आफ्नो वक्तव्यमा लामिछानेले आगामी निर्वाचन समयमै हुने विश्वास व्यक्त गर्दै सरकारलाई दबाबमार्फत सहयोग गर्ने वाचा गरेका छन्। आन्दोलनका क्रममा परिवार गुमाएका अभिभावकसँग सहानुभूति प्रकट गर्दै आफू आवश्यक योगदान दिन कारागारमै भेट्न आउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज