काठमाडौं । आइतबारदेखि सर्वोच्च अदालत खुल्ने भएको छ । अदालत खुलेसँगै बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता र सुनुवाइ हुने छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीमा परेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा सञ्चालन गर्ने सूचना सार्वजनिक भएको छ ।
बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यही भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने निर्णय गरेको हो ।
हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जनाएका छन् ।
तर, जस्तोसुकै अवस्था भए पनि न्यायपालिकाले संविधानले दिएको दायित्व निर्वाह गर्दै नागरिकको मौलिक हक र न्यायप्राप्तिको अधिकारलाई सम्मान गर्ने उनले बताएका छन् ।
आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज तथा नेपालको न्यायिक इतिहाससँग सम्बन्धित कागजातहरू पनि करिब नष्ट भएका प्रधानन्यायाधीश राउतले बताएका छन् ।
साथै, मिसिल कागजात र भौतिक स्रोत–साधनको संरक्षणमा सहयोग गर्ने न्यायाधीश, कर्मचारी, वकिल, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति सर्वोच्च अदालतले आभार प्रकट गरेको छ ।
‘०८२।०५।२३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं । यसैगरी उक्त घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

