काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न भएको संवेदनशील अवस्थाबारे सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका हुन्।
राष्ट्रपति पौडेलले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्नका लागि आफू निरन्तर सरोकारवाला पक्षहरूसँग विचार–विमर्श गर्दै आएको उल्लेख गरेका छन्। उनले आन्दोलनरत नागरिकका माग सम्बोधनका लागि समाधान खोज्ने प्रक्रिया अघि बढेको भन्दै सबैलाई धैर्य र विश्वास राख्न पनि अपिल गरे।
“देशलाई संवैधानिक बाटोबाट निकास दिने दिशामा पहल भइरहेकाले संयमतापूर्वक शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गरौं,” राष्ट्रपति पौडेलको विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि उनले राजनीतिक दल र सरोकारवाला निकायहरूसँग निरन्तर संवादमार्फत समस्या समाधानको पहल गर्दै आएको बताउँदै राष्ट्रिय एकता र सहकार्य अपरिहार्य भएको जोड दिएका छन्।