काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मंगलबार सामूहिक राजीनामा दिएका छन्। संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभामा रहेका सबै २० जना सांसदहरूले एकैपटक पद त्याग गरेका हुन्।
विज्ञप्तिमा रास्वपाले जेनजी आन्दोलनका माग र अपेक्षामा पूर्ण समर्थन रहने र निरन्तर आन्दोलनमा साथ दिने उल्लेख गरिएको छ। सांसदहरूको सामूहिक राजीनामासँगै रास्वपाले पाँच बुँदे माग सार्वजनिक गरेको छ। ती मागमा प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, ठूला भ्रष्टाचार प्रकरण छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन र संविधान संशोधन प्रक्रियाको सुरुवात समावेश छन्।
त्यस्तै, रास्वपाले प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई तत्काल बर्खास्त गरी हिरासतमा लिनुपर्ने तथा दोषीहरूमाथि कडा कारबाही गर्नुपर्ने माग पनि राखेको छ।

