काठमाडौँ । सरकारले केही दिनअघि लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको हो।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार अब सबै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेका छन्। उनले आन्दोलनका कारण सञ्जाल खोल्ने निर्णय भएको स्पष्ट पारे।
मन्त्री गुरुङले भने, “सरकारले प्रतिबन्धको निर्णयबारे कुनै पश्चाताप गरेको होइन। तर यही बहानामा व्यापक विरोध र आन्दोलन भएपछि सामाजिक सञ्जाल खोल्ने निर्णय गरिएको हो।”
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा प्रतिबन्ध लगाउने कारणबारे ब्रिफिङ गर्दै केही सामाजिक सञ्जाल कम्पनीहरूले नेपालमा दर्ता नगर्ने अडान लिएको जानकारी दिएका थिए। उनले नेपालको कानुन र राष्ट्रिय स्वाभिमानको बेवास्ता गरिएको दाबी गर्दै यसलाई गम्भीर रूपमा लिएको बताए।
गत १९ भदौमा मन्त्रिस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गरिएको थियो। तर, सो निर्णयविरुद्ध काठमाडौंमा भएको ‘जेनजी’ पुस्ताको आन्दोलनमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएपछि सरकारले दबाब थेग्न नसकी प्रतिबन्ध फिर्ता लिएको हो।

